काठमाडौं। नेपाल–चीनबीचको सबैभन्दा ठुलो उत्तरी सीमा तातोपानी नाकाबाट आठ वर्षपछि चीनतर्फ निर्यात खुलेको छ। नाका खुलेसँगै आजदेखि दुवै देशमा मालवाहक कन्टेनर आउजाउ हुन थालेका छन्। चीन र नेपालका सुरक्षा निकायको उपस्थितिमा दुवै देशबाट आयात–निर्यात खुलेको छ।
आज मितेरी पुलबाट तीनवटा कन्टेनरबाट चीनतर्फ मुडा, जुट, म्याट्रिक्स र हस्तकलाकाका सामाग्री पठाएर निर्यात खुलाइएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो। २०७२ वैशाख १२ गतेको भूकम्पको चार वर्षपछि उक्त नाका २०७६ जेठ १५ देखि आंशिक रूपमा सञ्चालनमा आएको थियो ।
भूकम्पअघि उक्त नाकाबाट हस्तकलाका सामाग्री, वनस्पति, जडीबुटी, चाउचाउ लगायतका १८२ प्रकारका सामाग्री निर्यात हुँदै आएको थियो ।
गत फागुन ४ गते, चैत ६ गते नेपालबाट जिल्ला प्रशासन कार्यालय, अध्यागमन कार्यालय, जिल्लाका सुरक्षा निकाय, तातोपानी भन्सार कार्यालय र चीनको न्यायालय काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन लगायतका अधिकारी बिच तातोपानी नाका पूर्ण रूपमा सञ्चालनका लागि बैठक भएको थियो । बैठकमा मे १ अर्थात आजदेखि नाका सञ्चालनमा ल्याउने सहमती भएको थियो ।
चैत १५ मा जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासामा सम्पन्न नेपाल–चीनको उच्च स्तरीय संयन्त्रको बैठकमा तातोपानी नाका पूर्ण रूपमा खोल्ने सहमति भएको थियो । वैशाख ४ गते सम्पन्न नेपाल–चीनका सरकारी अधिकारीबिच निर्यात खोल्ने सहित ६ बुँदे सहमति भएको थियो । चैत २८ गते चीनले भौतिक निमार्ण पूर्वाधारमा नापतौल काँटा राख्ने भन्दै चीनले एक साताका लागि नाका पूर्ण रूपमा बन्द गरेको थियो । वैशाख १७ गते सम्म खासाबाट दैनिक १० सङ्ख्यामा मालवाहक कन्टेनर नाका भित्रँदै आएको छ ।