काठमाडौं । कूटनीतिज्ञ विजयकान्त कर्णले नारायणप्रकाश (एनपी) साउद अप्ठ्यारो र असजिलो बेला परराष्ट्रमन्त्री बनेको टिप्पणी गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै कर्णले भन्नुभयो, ‘नयाँ परराष्ट्रमन्त्री बनिरहँदा भारत र चीन दुवै छिमेकी रणनीतिक प्रतिस्पर्धा छन् । चीन र अमेरिकाबीच व्यापारमा संघर्ष छ । सुपर पावरमा नयाँ शक्तिको उदयले ध्रुवीकरण भएको छ । युक्रेन युद्धपछि हाम्रा सामु विश्वसम्बन्धमा नयाँ चुनौती थपिएका छन्,।’
नेपाली राजनीतिक नेतृत्वले भारतसँग विश्वास वातावरण निर्माण गर्नुपर्ने आवश्यकता पनि उहाँले औंल्याउनुभयो । कालापानी र सुस्ताको सीमा समस्या सचिव र मन्त्रीस्तरीय संयन्त्र प्रयोग गरेर समाधान गर्नुपर्ने कर्णको सुझाव छ ।
उहाँले सीमा समस्या समाधान गर्न समय लाग्ने पनि औंल्याउनुभयो । कर्णले थप्नुभयो, ‘सन् १९७१ मा बंगलादेश बन्यो, भारतसँगको सीमा विवाद २०१६ आएर दुवै देशको विन–विन हुने गरी समाधान भयो । रत्नपार्कमा कूटनीति गरेर हुँदैन । जुलुस निकालेर कूटनीति हुँदैन । नेपाल र भारतले डेडिकेटेड म्याकनिजम बनाएर काम गर्नुपर्छ । हाम्रो विदेशनीति न चीनमुखी बनाउने हो, न भारतमुखी र अमेरिकामुखी बनाउने । हामीले त नेपालमुखी कूटनीति बनाउने हो नि । सत्तामा एउटा र विपक्षमा हुँदा अर्को भाषा बोलेर कूटनीति हुँदैन नि ।’
चीनसँग पनि सीमा विवाद रहेको औंल्याउँदै कर्णले भन्नुभयो, ‘हुम्लामा चीनले सीमा अतिक्रमण गरेको सरकारी डकुमेन्टले नै बोल्छ । यसलाई पनि समाधान गर्दै जानुपर्छ ।’ फरक प्रसंगमा उहाँले बारा २ मा उपेन्द्र यादव ‘कम्फर्टेबल पोजिसन’मा रहेको पनि बताउनुभयो ।