काठमाडौं । दक्षिण एसियाली महिला मञ्चकी अध्यक्ष प्रमीला आचार्य रिजालले नेपाली महिला उद्यमीका लागि सरकारले नयाँ सोच र अवधारणा ल्याउनुपर्ने बताउनुभएको छ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै अध्यक्ष रिजालले भन्नुभयो,‘नेपाली महिला लघु, साना तथा मझौला उद्यममा सीमित छन् । व्यवसायमा उनीहरूको ठुलो योगदान भए पनि सीमित दायरामा बसेर उद्यम सञ्चालन गर्नुपर्ने सामाजिक र आर्थिक चुनौतीहरू छन् । कोभिड-१९ पछि अझ समस्यामा छन् । अब महिला उद्यमशीलतामा नयाँ अवधारणा बनाउनुपर्छ,।’
रिजाल हालै ‘इन्दिरा गान्धी प्रियदर्शिनी लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित हुनुभएको थियो । महिला उद्यमी रिजालले महिला उद्यमीका लागि सरकारको सहयोग सीमित रहेको पनि औंल्याउनुभयो । महिला उद्यमी हरित ग्राम बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर कुराकानी गरेको पनि उहाँले बताउनुभयो ।
रिजालका अनुसार दक्षिण एसियाली महिला मञ्चले नेपालमा पहिलो पल्ट महिला केन्द्रित परियोजना भित्र्याउँदै छ । त्यसअनुसार नेपाली कच्चा पदार्थबाट नयाँ उत्पादन गर्नका लागि काभ्रेपलाञ्चोकमा ५० जना महिला उद्यमीले महिला औद्योगिक खरिद ग्रामको सञ्चालन गर्नेछन् । त्यसबाट स्थानीय किसान र समुदायले फाइदा लिन सक्ने उहाँले बताउनुभयो ।