Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

सुदूरको ‘दूर’ भविष्य बोकेको है जिरा फुल्याको छै क्या, मैकन नबिच्छेइ है क्या...

सुदूरको ‘दूर’ भविष्य बोकेको है जिरा फुल्याको छै क्या, मैकन नबिच्छेइ है क्या...

  • बिहिवार, चैत्र १६ २०७९

  • 2.0K
    SHARES

  • सुदूरको ‘दूर’ भविष्य बोकेको है जिरा फुल्याको छै क्या, मैकन नबिच्छेइ है क्या...

    सुदूरपश्चिम प्रदेश, जहाँ हिमाल, पहाड र तराईको समिश्रण रहेको छ । प्रकृतिले वरदान दिएका विभिन्न सम्पदाहरुको खानी हो सुदूरपश्चिम । त्यहाँको माटोमा सुन फल्छ । राज्यको दृष्टिबाट टाढा रहेको सुदूरपश्चिम बिस्तारै आफ्नो पहिचान बनाउन जुटेको छ । काठमाडौंबाट सुदूरपश्चिम टाढा होइन, सुदूरपश्चिमबाट काठमाडौं टाढा छ ।

    राज्य पुनर्संरचना भइसकेपछि सुदूर केही विकासका क्रियाकलापमा वामे सरिरहेको छ तर, त्यो पर्याप्त भने होइन । आजको मुख्य प्रश्न भनेको सुदूरमा लगानी गर्दा कति सुरक्षित छ भन्ने हो । त्यहाँ व्यवसाय गर्न चाहने लगानीकर्तालाई प्रदेश र स्थानीय सरकारले कतिको सहयोग गरेको छ भन्ने अर्को प्रश्न हो । यी र यस्तै प्रश्नहरुलाई मनमा खेलाएर सुदूरको दूर भविष्य देखेका पात्रसँग मेरो बानेश्वरमा भेट भयो । यो भेट पहिलो थियो । उनी थिए, है जिरा फुल्याको छै क्या, मैकन नबिच्छेइ है क्या गायक सर्जक तपेन्द्र रावल ।

    तपेन्द्र रावल आफूलाई पर्यटन व्यवसायी भन्न रुचाउँछन् । उनले कर्णाली चिसापानीमा ‘चिसापानी एडभेन्चर रिसोर्ट’ सञ्चालन गरिरहेका छन् । उक्त रिसोर्टको एउटै लक्ष्य सुदूरपश्चिममा पर्यटक भित्र्याउने हो । साहसिक खेल अन्तर्गत पर्ने जिपलाइन त्यहाँको मुख्य आकर्षक हो । सुदूरपश्चिममा मात्रै होइन विश्वमै दोहोरो जिपलाइन यात्रा चिसापानीमा मात्रै गर्न पाइन्छ । कर्णाली चिसापानीमा दुई तर्फी रहेको जिपलाइन संसारकै एक मात्र र सस्तो जिपलाइन भएको दाबी रावलले गरेका छन ।

    जुन ४०० रुपैयाँमा दोहोरो जिपलाइन गर्न सकिन्छ । यसलाई गिनिज बुक अफ वर्ल्ड्मा रेकर्ड गर्ने प्रक्रियामा समेत रहेको उनको भनाइ छ । विभिन्न समयमा खेलकूदको आयोजना समेत गरिरहने रावलले यसैपाली चिसापानीमा महिला बिच भलिबलको आयोजना गर्दैछन् । ठूलो धनराशीको भलिबल प्रतियोगिताको तयारीमा उनी जुटेका छन् । काठमाडौंको बसाइका क्रममा रावलसँग पर्यटन प्रवद्र्धनबारे धेरै विषयमा बहस र छलफल भएको छ ।

    किन सुदूरपश्चिममा विदेशी पाहुनाको आवागमन कम हुन्छ ?


    सुदूरपश्चिममा घुम्न लायक धेरै ठाउँहरु छन् तर पर्यटक अपेक्षित मात्रामा किन जाँदैनन् यो जटिल प्रश्न छ । यहीँ प्रश्न रावलले सुदूरपश्चिमका धेरै जनप्रतिनिधि, जान्ने मान्नेहरुलाई गरे । तर, फ्याक्ट जवाफ उनले पाएनन् । उनी अनुसन्धानमा जुटे, आखिर किन पर्यटकका लागि सुदूरपश्चिम प्रमुख गन्तव्य बन्दैन । भौगोलिक कठिनाइ हो ? कि त्यहाँ घुम्न लायक ठाउ छैनन् ? त्यहाँका मान्छे सभ्य नभएर हो ? टूर एण्ड ट्राभल्स गतिला नभएर हुन् ? यात्रा कष्टदायी भएर पो हो की ? यी र यस्तै प्रश्नहरुको जवाफ खोज्न हिडेका रावललाई ‘पहिलो गासमै ढुंगा’ भनेजस्तो पर्यटकका लागि त सुरुवातमै यहाँका एअरलाइन्सहरु कम्पनीले सुदूरपश्चिम ‘नो इन्ट्री’ जस्तै गरिदिएका रहेछन् ।

    यो कसरी ?


    सामान्यतया काठमाडौं–धनगढी–नेपालगञ्ज यात्रा गर्दा स्वदेशी यात्रुले तिर्ने पैसा ५ हजारदेखि शुरु हुन्छ । तर, त्यही ठाउँको यात्रामा कुनै विदेशी जान चाहे उसले नेपाली २३ हजार रुपैयाबाट शुरु गर्नुपर्दछ । यो पैसा हवाइ कम्पनीहरुकै मनोमानीले लिइएको रावलको भनाइ छ । न यो पैसाको राज्यले कर पाउँछ न त राज्यलाई फाइदा नै छ । यो त हवाइ कम्पनीहरु मोटाउने बाटो मात्रै हो । सुदूरपश्चिममा अवस्थित खप्तड, शैलेश्वरी, बडिमालिका, उग्रतारा, कर्णाली चिसापानी, घोडाघोडी, टीकापुर पार्क, बडिकेदार प्रमुख पर्यटकीय गन्तव्य हुन् । त्यहाँसम्म पुग्नकै लागि एकजना पर्यटकको लाखौँ खर्च हुन्छ । उसले कसरी यात्रा गर्ने ? त्यसको साँटो पर्यटकीय बस चढेर पोखरा पुग्छ, घुम्छ फर्किन्छ । यदि सुदूरमा पर्यटक भित्र्याउने हो भने हवाइ भाडाबाट अभियान थाल्नुपर्ने पर्यटन व्यवसायी रावललको सुझाव छ ।

    सर्वोच्च जान्छु

    सुदूरको दूर भविष्य देखेका रावल सर्वोच्चमा मुद्धा हाल्ने तयारीमा जुटेका छन् । सार्वजनिक महत्वको विषयमा सरकार नै गम्भीर बन्न नसकेको भन्दै रावलले विभिन्न अधिवक्तासँग परामर्श लिएका छन् । उनलाई पत्रकार खेम बमले पनि साथ दिएका छन् । काठमाडौंका वरिष्ठ अधिवक्ताहरुसँग भेटघाट र छलफलमा व्यस्त रहेका रावलले यहाँ घुम्न आएका पर्यटकसँग पनि कुराकानी गरिरहेका छन् । रावलले राज्य र हवाइ सेवा कम्पनीहरुलाई विपक्षी बनाएर मुद्धा दायर गरे यसको फैसला एक डेढ वर्षमा हुनसक्छ र उनको पक्षमा फैसला आउने पक्का पक्कीजस्तै हो । यो उनका लागि मात्रै होइन सिंगो सुदूरपश्चिमका लागि गर्वको विषय बन्ने छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार सार्वजनिक महत्वको विषयमा नागरिकले रिट हाल्न सक्छ । त्यसको वस्तुस्थिति बुझेर कारण देखाउ आदेश जारी हुन्छ र फैसला आउँछ ।

    विभिन्न देशको अनुभव छ रावलसँग


    रावल युरोपका १४/१५ देश घुमेका छन् । जसमा स्वीजरल्याण्ड, डेनमार्क, जर्मनी, फ्रान्स, इटली, भ्याटिकन सिटी, स्वीडेनलगायत छन् । उनले त्यहाँको पर्यटकीय वस्तुस्थितिबारे नजिकबाट बुझेका छन् । उनले नर्बेमा तीन–चार वर्ष नै बिताएका छन् । शिक्षकबाट आफ्नो जीवनको करियर सुरुवात गरेका रावललाई त्यतिले चित्त बुझेन । समाजमा केही उदाहरणीय काम गर्ने हुटहुटी बोकेका रावलका प्रेरणा उनका बुवा पनि हुन् । उनका बुवाले पनि सामाजिक रुपमा धेरै काम गरेका छन् । विदेशमा बस्ने नेपालीले गर्ने भनेको आफ्नो क्षमता बाहिरको काम नै हो । सामान्य कामले पैसा दिएपनि आत्मसम्मान नदिने रावलको बुझाइ छ । अनस्किलको काम गरेर पैसा कमाइ भएपनि क्षण क्षणमा आत्मसम्मान गुमिरहेको रावलले सहन सकेनन् र नेपाल फर्किए ।

    कलाकारितामा चाँसो


    ठूलो कलाकार बनौला, पैसा कमाउला भन्ने सोचबाट मुक्त भई, कसरी सुदूरको पहिचान बनाउन सकिन्छ भन्ने दृढता बोकेका रावलले दुईवर्ष अघि एक गीत कोरे, है जिरा फुल्याको छै क्या, मैकन नबिच्छेइ है क्या । यो गीत अहिले सामाजिक सञ्जाल टिकटकमा भाइरल बनेको छ । यसले सुदूरको संस्कृतिलाई मात्रै होइन, त्यहाँका पर्यटनसँगै पहिचान पनि बोकेको छ । केही दिनमा भिडियो रिलिज हुन लागेको गीतमा रावलले निकै मेहनत गरेका छन् । अहिले उनको गीत देशभित्र मात्रै होइन, विदेशमा पनि रुचाइएको छ ।


    १० लाख ८७ हजार बजेटमा सुदूरका ९ जिल्लामा १० दिन छायांकन गर्ने गरि २०७९ माघ २१ गते काठमाडौंबाट दुईवटा स्कार्पियोसहित सुदुर पश्चिम प्रस्थान गरेको टोलीलाई कुनै पनि स्थानीय सरकारले सहजीकरण नगरेकोले १८ दिन समय लागेको थियो । जसका कारण बजेट बढेर २६ लाख नाघ्यो । रावलले गीतको कथालाई पर्दामा उतार्न मुम्बईमा समेत छायांकन गरेका छन् ।

    अहिले आर्थिक व्यवस्थापन गर्न नसकेर तनावमा रहेका रावल है जिरा फुल्याको रिलिजको दिन अनिश्चित जस्तै भएको बताउँछन् । उनले धेरै सँग सहयोगको अपिल गर्दा पनि सहयोग नपाएकोमा निराश छन् । जसले गर्दा चैतमा हुने राष्ट्रव्यापी बिच महिला भलिबल प्रतियोगिता समेत अन्योलमा परेको छ ।


    सुदूरको पहिचानलाई मेटेर भाइरल हुने नाममा टुक्का बङ्ग्याउने गायकका अगाडि रावलले चुनौती पनि थपेका छन् । सुदूरका पछिल्ला कलाकारहरु भाइरलका नाममा उट्पट्याङ गीत बजारमा ल्याइरहेका छन्, उनीहरुले पैसा कमाए पनि आत्मसम्मान कमाउन सकेका छैनन् । रावलले ल्याएको यो गीतबाट सिकेर कलाकारले त्यहाँको टिपिकल शब्दहरुलाई आगामी दिनमा न्याय दिन्छन् की त्यो हेर्न बाँकी छ ।


    बिहिवार, चैत्र १६ २०७९०२:१८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij