काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्ने कुनै रहर नभएको बताउनुभएको छ ।
‘मिसन ग्रासरुस’ अन्तर्गत पाल्पाको तानसेनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफूलाई प्रधानमन्त्री बन्ने कुनै रहर नभएको बताउनुभएको हो ।
उहाँले दश दलीय गठबन्धनले देशको बारेमा केही बोल्न नसकेको बताउनुभयो । नेता ओलीले एमालेविरुद्ध सबै शक्ति एकजुट भएर अप्ठ्यारो पारेपछि कब्जा गर्न लागेको पार्टी फिर्ता गरेको बताउनुभयो ।
एमालेलाई काम गर्न नदिएर हटाएपछि देशको भूगोल मिचिएको उहाँको जिकिर थियो ।
ओलीले भारततर्फ लक्षित गर्दै भन्नुभयो, ‘मैले प्रधानमन्त्री भएर छाड्दा देश जत्रो थियो । पछि प्रचण्ड–शेरबहादुरहरुले अलिकति खुम्चाए । अलिकति आफ्नो भूभाग नदेखेको झैं गरे । कस्तो दलाली ? कस्तो चाकडी होला ? देश मिचिएको सरकारमा छन् रक्षा गर्ने कर्तव्य हो । तर, मैले त देखिन भन्छन् । मैले यति बोलेपछि भोलि कुम्लोकुटुरो बोकेर टिकट काटेर कुरा लगाउन जान्छन् । हजुर पाल्पामा गएर केपी ओलीले त नेपालको सिमाना घटायो भन्यो नि हजुर । त्यसलाई त आउन दिनुभएन है ।’