काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले छिट्टै सरकार विस्तार हुने बताउनुभएको छ । सरकारको पुर्नगठन नै कठिन काम भएकाले केहि असहज त हुने तर अबको केहि दिनमा सरकारले पूर्णता पाउने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले सरकारमा सहभागी हुने इच्छाले नै दलहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताउँदै सबै दललाई समेट्नुपर्ने भएकाले गठबन्धनको सरकार सञ्चालन नै बडो कठिन काम रहेको बताउनुभएको छ ।
तर जतिसुकै कठिनाई भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने पर्ने भएकाले सहमती र समझदारीमा सबैलाई समेटेर छिट्टै मन्त्रीमण्डल छिट्टै विस्तार गर्नुपर्ने नेता लेखकको सुझाव रहेको छ । सरकार र संसद दुवैले पनि काम गर्न नसकिरहेको अवस्थाका कारण धेरै गतिरोध उत्पन्न भएको उहाँको तर्क छ ।
यस अगाडि हिजो मंगलबार प्रधनमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु भइसकेको बताउनुभएको छ ।
विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिन छलफल सुरु भइसकेको प्रधानमन्त्रीले हिजो गोरखामा आयोजित एक कार्यक्रममा बताउनुभएको थियो । सरकारलाई पूर्णता दिन नेपाली काँग्रेसलगायत अन्य दलहरुसँग छलफल भइरहेको उहाँले बताउनुभयो ।