काठमाडौं । नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेबाट पत्रकारिताप्रति आएको अभिव्यक्तिले समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको ठहर गरेको छ ।
शुक्रबार सभामुख घिमिरे र नेपाल पत्रकार महासंघको प्रतिनिधि मण्डलबीच भएको भेटघाटका क्रममा सभामुख घिमिरेले नेपाली पत्रकारिता बिक्री हुने गरेको तथ्यहीन आरोप लगाएका थिए।
त्यस अभिव्यक्तिको सशक्त खण्डन गर्दै महासंघले नवनिर्वाचित सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् रहेको जनाएको छ।
सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासंघको नेतृत्वले सभामुखको सचिवालयमार्फत ध्यानाकर्षण गराएर सभामुखबाटै उक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको थियो। तर, सचिवालयबाट सामान्य प्रष्टीकरणबाहेक उनको आधिकारिक धारणा आउन नसकेको पनि विज्ञप्तिमा जनाइएको छ।
साथै महासंघले सभामुखलाई आफ्ना आरोपहरू पुष्टि गर्न वा आधारहीन आरोप फिर्ता लिनसमेत आग्रह गरेको छ। साथै सभामुखबाट आएको आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभएमा महासंघले कानुनी लगायतका अन्य दबाबमूलक कार्यक्रम अगाडि बढाउनेसमेत बताएको छ।
