काठमाडौं। सभामुख देवराज घिमिरेले महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको टिप्पणी गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार आयोजित मिडियामा महिलाका विचार गोष्ठी कार्यक्रममा सभामुख घिमिरेले यस्तो बताउनु भएको हो ।
उहाँले संसद र अन्य संघसंस्थाहरुमा पनि महिलाहरुको सक्रियता र सहभागिता बढिरहे पनि सञ्चारमाध्यमहरुले त्यस अनुसार प्रचारप्रसार नगरेको आरोप लगाउनु भएको छ ।
उहाँले आफू सभामुख भइसकेपछिका संसद बैठकमा पनि महिला सांसदहरुले शून्य र विशेष समयमा सक्रियता र सहभागिता उल्लेख्य देखाए पनि सञ्चारमाध्यमहरुले सक्रियता अनुसार प्रचार गर्न कन्जुस्याइँ गरेको बताउनुभयो।
सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले विशेष नेता र चर्चामा आएका विषयवस्तु बाहेकका समाचार नबनाएको गुनासो गर्नुभएको थियो ।
सञ्चारमाध्यमहरुले संसदको विषयवस्तु महत्त्वपूणर् नठानेर चर्चामा रहेका नेता र विषयको प्रचारमा मात्रै बढी ध्यान दिने गरेको पनि सभामुखको भनाई छ ।