Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

ओलीले संसद् विघटन ठिक थियो भनेपछि नयाँ विकल्प सोच्न बाध्य बनायो : प्रधानमन्त्री प्रचण्ड

ओलीले संसद् विघटन ठिक थियो भनेपछि नयाँ विकल्प सोच्न बाध्य बनायो : प्रधानमन्त्री प्रचण्ड

  • बिहिवार, फाल्गुण १८ २०७९

  • 544
    SHARES

  • ओलीले संसद् विघटन ठिक थियो भनेपछि नयाँ विकल्प सोच्न बाध्य बनायो : प्रधानमन्त्री प्रचण्ड
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट संसद् विघटन ठिक थियो भनेपछि माओवादीले नयाँ विकल्प खोजेको बताउनुभएको छ ।
     
    बिहीबार(आज) राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आयोजित आठ दलीय सांसदहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस २६ गतेको ओलीको विचारले आफूलाई सोच्न बाध्य बनाएको उल्लेख गर्नुभयो।
     
    ‘मेरा लागि प्रधानमन्त्री पद ठुलो कुरा होइन, संविधान र लोकतन्त्रको रक्षा ठुलो कुरा हो । पुस २६ गतेको संसद्‌मा मैले प्रधानमन्त्रीको रुपमा विश्वासको मत लिँदै गर्दा ओलीजीले संसद्‌मा जे बोल्नुभयो‚ त्यसले मनमा चसक्क भयो । हामी संसद् विघटनको विपक्षमा थियौँ । हामी आफैँले त्यत्रो संघर्ष गरेर संसद् फिर्ता ल्याएका थियौँ । तर, उहाँले ठिक गरेका थियौँ भनेपछि हामी सोच्न बाध्य भयौँ । संविधान र लोकतन्त्रविरूद्ध हामी जाने कुरा भएन । हामी सोच्न बाध्य भयौँ । त्यस्तो नयाँ परिस्थिति बन्यो । आज फेरि संविधान र लोकतन्त्रको रक्षाका निम्ति हामी एक ठाउँमा उभिएका छौँ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो।
     
    अघिल्लो पटक संविधान विपरीत संसद् विघटन भएपछि सबै संविधान र लोकतन्त्रको पक्षमा उभिएर संसद् पुनः स्थापना गर्न सडकसम्म गएको उहाँले सम्झिनुभयो । ‘हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो । तर, बीचमा हामी अलिकति अलमलियौँ, अब ठिक ठाउँमा आएका छौँ । गठबन्धन सुदृढ बनाएर अघि बढ्छौँ,’ प्रचण्डले भन्नुभयो।
     
    उहाँले पौडेलले आठ मात्र होइन १० दलको समर्थन रहेको दाबी गर्नुभयो । गठबन्धनमा रहेका दलका साथै आम जनता र नेपाल समाजवादी पार्टीको र स्वतन्त्र सांसदहरूको पनि समर्थन रहेको उल्लेख गर्नुभयो । ‘उहाँले निर्वाचन जितिसक्नुभएको छ । यो लोकतन्त्र र संविधानको हितमा छ,’ प्रचण्डले भन्नुभयो ।
     
    उहाँले नेपाली राजनीति उतारचढावपूर्ण परिस्थितिमा रहेकाले मिलेर जानका लागि अनुरोध गर्दा ओलीले नमानेको दाबी गर्नुभयो । मिलेर जानका लागि नै कांग्रेसका लागि राष्ट्रपति प्रस्ताव गरेको उहाँले बताउनुभयो ।
     
    राष्ट्रपति संस्था संविधान र लोकतन्त्रको रक्षक र राष्ट्रको अभिभावक भए पनि विगतमा त्यस्तो नभएको आरोप लगाउनुभयो। ‘यसपटक हामीले संविधानको महत्त्व र अन्तर्य बुझेको, लोकतन्त्रका निम्ति लामो संघर्ष गरेको निष्ठावान् नेता उम्मेदवार बनाएका छौं । उहाँले संविधान र लोकतन्त्रको रक्षाका निम्ति अभिभावकको भूमिका खेल्नुहुनेछ भन्ने हाम्रो विश्वास छ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।


    बिहिवार, फाल्गुण १८ २०७९०५:०५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij