काठमाडौं । अछामका पृथ्वीबहादुर शाहले अमेरिकाबाट शंकास्पद रुपमा नेपाल भित्राएको घटनाको अनुसन्धान प्रतिवेदन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
सीआईबीले आज पत्रकार सम्मेलन गरेर त्यसबारे औपचारिक जानकारी दिंदै छ । शाहले अमेरिकाबाट पाँच वर्षमा ६१ करोड ३५ लाख ९६ हजार ४४ रुपैयाँ शंकास्पद रुपमा नेपाल भित्राएको पाइएपछि पृथ्वीबहादुर शाह पुस २२ गतेदेखि प्रहरी हिरासतमा छन् ।
सीआईबीले गरेको अनुसन्धानका क्रममा शाहसहितको समूहले अमेरिकी नागरिकलाई ठगेर करोडौं रकम नेपाल भित्राएको पाइएको छ । ब्यूरोका अनुसन्धान अधिकृतहरुका अनुसार शाहको समूहबाट ठगिएका अमेरिकी नागरिकमध्ये अधिकांश वृद्ध अवस्थाका छन् ।
प्रहरीका अनुसार कतिपय घटनामा पीडितलाई स्क्रिन शेयर गर्न बाध्य पारेर पैसा ट्रान्सफर गर्न लगाएको पाइएको छ । अनुसन्धान अधिकृतहरुसँग बयानका क्रममा शाहले अवैध रकम ल्याएको आरोप अस्वीकार गरेका छन् । उनले नेपाल घुम्न आउने पर्यटकलाई सहजीकरण गरिदिएवापत आफूलाई रकम प्राप्त भएको दाबी गरेका छन् ।
कोरोना भाइरसको महामारीका कारण पर्यटन व्यवसाय ठप्प भएका बेला पनि उनको खातामा ठूलो परिमाणमा रकम आएको देखिएको थियो ।