काठमाडौं । नेकपा एमालेले सरकार छाडेसँगै आठ दलीय गठबन्धनबाट मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको बेला गठबन्धनको चौथो ठूलो दल नेकपा एकीकृत समाजवादीले गृह मन्त्रालयमा दाबी गर्ने भएको छ ।
प्रधानमन्त्रीले राष्ट्रपति चुनावअघि नै संसदबाट विश्वासको मत लिने र मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहे पनि शीर्ष बैठकमा छलफल हुन बाँकी छ । गठबन्धन दलहरुबीच मन्त्रालयको संख्या बाँडफाँटमा अनौपचारिक कुराकानी भइसकेको छ ।
आज भोलिमै विश्वासको मत लिने तथा सरकारमा अन्य दल सहभागी हुनेबारे गठबन्धनको बैठक बोलाएर छलफल गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
एमालेले यसअघि सम्हालेको अर्थ मन्त्रालय कांग्रेसले पाउँदा गृहमन्त्रालय प्रधानमन्त्रीको दलले नै राख्ने प्रयास भइरहेको बेला नेकपा एसले पनि गृहमा दाबी गर्ने भएको हो । नेकपा एसका एक नेताले राष्ट्रपतिको अफर त्यागेर कांग्रेसलाई सघाएकाले गृहमा आफूहरूको स्वभाविक दाबी रहने बताएका छन् ।
गठबन्धनमा आकारका हिसाबले ८८ सीटको कांग्रेसपछि ३२ सीटको माओवादी दोस्रो छ । तेस्रो जसपाको १२ र चौथो नेकपा एसको १० सीट छ भने जनमतको ६ सीट छ । लोसपा र नागरिक उन्मुक्ति चार चार सीटसहित छन् भने राजमोको एक सीट छ ।
गृह दाबी गरेको नेकपा एसबाट सो मन्त्रालयको प्रमुख दाबेदार उपमहासचिव प्रकाश ज्वाला देखिएका छन् । यद्यपि संसदीय दलका उपनेता राजेन्द्र पाण्डेको पनि दाबी हुने देखिन्छ । अहिले पाण्डे उपनेता र ज्वाला प्रमुख सचेतक छन् ।