काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा भइरहेको खाद्य तथा पेय प्रदर्शनी ‘गल्फ फुड एक्स्पो–२०२३’ मा विराटनगरका तीन उद्योग सहभागी छन् ।एक्स्पोमा रमपम र टुपिएम चाउचाउको उत्पादक एसियन थाई फुड्स, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी र गुडलाइफ बेभरेज गरी तीन उद्योगले आ–आफ्ना स्टल राखेर सहभागी भएका हुन् ।
एक्स्पो दुबईको अलमुस्ताकवाल प्लाजामा भइरहेको छ । युएईका लागि नेपालका राजदूत कृष्णप्रसाद ढकालले तीन वटै उद्योगको स्टलको उदघाटन गरेको सञ्चालक महेश जाजूले जानकारी दिनुभयो । राजदूत ढकालले उक्त अवसरमा एसियन थाई फुड्सले उत्पादन गरेको नौलो खाद्यसामग्री ‘नेपालीटाना पास्तानुडल्स’–को पनि ‘लन्च’ गर्नुभएको थियो ।
‘यो पास्ता र नुडल्सको मिश्रित स्वरूपमा छ, यसको पहिलो लन्चिङ हामीले युएईमा गरेका हौँ’, उद्योगी जाजूले भन्नुभयो, ‘एक सातापछि नै नेपालमा यसको बजारीकरणलाई आक्रामक स्वरूप दिइनेछ ।’नेपालीटाना पास्ताको ब्रान्ड एम्बेस्डरमा नेपाली नायक प्रदीप खड्कालाई नियुक्त गरिएको छ ।
जाजूले एक्स्पोमा नेपालीटाना पास्ता नुडल्सका साथ रमपम चाउचाउ, कोरियन रामेन टुपिएम अकबरे, गुडलाइफ ब्रान्डका विभिन्न बिस्कुटहरू, टुपिएम चिजबल, गुडलाइफ जुस लगायतका उत्पादनहरू राखिएको बताउनुभयो ।
‘हाम्रा उत्पादनलाई बेलायत, अस्ट्रेलिया र मध्यपूर्वका अवलोकनकर्ताले मन पराएका छन्’, दुबईबाट जाजूले भन्नुभयो, ‘नेपालका उत्पादन भनेपछि उनीहरूले विशेष आकर्षण, चाख र चासो राखेर हेरिरहेका छन् । नेपाल भन्नेबित्तिकै अवलोकनकर्ताहरू चासोका साथ सोधपुछ गर्छन् ।’
जाजूले आफ्ना उत्पादन युएईमा ल्याएर स्टल राख्न उद्योगले ४० लाखभन्दा बढी खर्च गरेको बताउनुभयो । जाजूले आफ्ना उत्पादनलाई जहाजमा राखेर दुबई पुर्याउन मात्र २ लाखभन्दा बढी परेको बताउनुभयो ।
जाजूले , ‘नेपालका उत्पादन पनि अन्तर्राष्ट्रिय स्तरका छन् । तर तिनलाई बजारीकरणको खाँचो छ । हरेक महिना कुनै न कुनै मुलुकमा अन्तर्राष्ट्रिय स्तरको खाद्य तथा पेय प्रदर्शनी भइरहेको हुन्छ । त्यहाँसम्म नेपालका उत्पादन पुर्याउन र प्रदर्शन गर्न सरकारले सहजीकरण गर्नुपर्छ । हरेक अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल सरकारका समन्वयमा नेपालको छुट्टै पेभिलियन हुनु आवश्यक छ ।’बताउनुभयो ।