काठमाडौं । गोर्खाको सहिद लखन गाउँपालिका वडा नंं ९ मा पर्ने नामजुङस्थीत बुङकोटघाटमा यही फागुन २३ देखि ३० गते सम्म श्रीमद्भागवत महायज्ञ हुने भएको छ ।
गोरखाको ज्यादुल खोला र धादिङको मच्छे खोलाको संगम स्थल बुढीगण्डकी किनारमा हुने महायज्ञमा चर्चित कथा वाचक पं। दिनबन्धु पोखरेलले कथा वाचन गर्नुहुने श्रीमद्भागवत महायज्ञ मूल समारोह समितिका महासचिव नारायण लामिछानेले जानकारी दिनुभयो ।
विक्रम संवत् १८८८ मा तत्कालीन जनरल प्रथम प्रधानमन्त्री भीमसेन थापाले स्थानीय अगन्धर काप्री र पण्डित नन्दु लामिछानेको संयोजनमा निर्माण गराउनु भएको पुरातात्त्विक, धार्मिक र ऐतिहासिक महत्त्वको भिमविरेश्वर महादेव सत्तलको पुनर्स्थापना र पुनर्निर्माणका लागि महायज्ञ हुने भएको हो ।
नेपालका पश्चिमी जिल्लाबाट काठमाडौँ आउने बटुवाहरूले आफ्नो कार्यसिद्धि होस भनेर प्रार्थना गरी काठमाडौँ आउने र फर्किएपछि कार्यसिद्धि भएकोमा आभार व्यक्त गर्दै पाठपूजा गर्ने भएकाले भिमविरेश्वर महादेवको धार्मिक र ऐतिहासिक महत्त्व रहेको लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार ठुलो सङ्ख्यामा बटुवाहरू पहिले पहिले भिमविरेश्वरमा रहेको पाटी पौवामा बसोबास गर्ने गरेको भएपनि अहिले ती संरचना जीर्ण अवस्थामा रहेका छन् ।
भिमविरेश्वरमा शिवरात्रिमा दिन शिव पुराण आयोजना गरिँदै आएको उहाँले बताउनुभयो । त्यहाँ फागु पूर्णिमा र एकादशीमा पनि ठुलो मेला लाग्ने, पितृ उद्धारका कार्यहरू गर्ने, होमादी गर्ने, बाजा बजाउने चलन प्रथम प्रधानमन्त्री थापाले नै चलाएको विभिन्न अध्ययनहरूबाट पुष्टि भएको छ ।
भिमविरेश्वर आसपासमा पहिला पहिला ठुलो बस्ती भएपनि अहिले भने पातलिँदै गएकोमा स्थानीय बासिन्दा चिन्तित छन् । साथै त्यस क्षेत्रमा बुढीगण्डकी जलाशय बनाउने सरकारको योजनाले मन्दिरका लागि अर्को उपयुक्त ठाउँ खोज्नु पर्ने बाध्य आइलागेको हो । जलाशय बन्दा त्यस क्षेत्र पुरै डुबान हुने भएकाले अर्को कुनै ठाउँमा जस्ताको जस्तै अर्को भिमविरेश्वर मन्दिर तथा सत्तल निर्माणका लागि महायज्ञ गर्न लागिएको नामजुङ सेवा समितिका अध्यक्ष तथा समाजसेवी शिव बन्जाराले जानकारी दिनुभयो । महायज्ञबाट धार्मिक तथा ऐतिहासिक मन्दिर तथा सत्तलको महत्त्व थप बढेर जनसहभागिता, अपनत्व र श्रोत साधन व्यवस्थापनमा सहज हुने आयोजकहरूले अपेक्षा गरेका छन् । महायज्ञ सम्पन्न गर्नका लागि समाजसेवी सुरेन्द्र थापाको संयोजकत्वमा एक हजार एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
अहिले भएका पुरातात्त्विक संरचनालाई पनि नयाँ निर्माण गरिने ठाउँमा लैजाने र पहिले नै हराएका तथा चोरी भएका अन्य संरचनाहरू पनि नयाँ ठाउँमा थप गर्ने योजना रहेको महासचिव लामिछानेले बताउनुभयो ।
काठमाडौँको पशुपतिनाथ मन्दिरको जस्तै अष्टभुजा शैलीमा निर्माण गरिएको मन्दिर भएकाले पनि भिमविरेश्वर मन्दिरको थप महत्त्व रहेको उहाँको भनाई छ ।
“भिमविरेश्वर महादेव गुठीको अहिले १०६ रोपनी जमिन छ, त्यसलाई अर्को ठाउँमा स्थानान्तरण गर्दा पनि त्योभन्दा बढी जमिन उपलब्ध गराउनु पर्ने आफूहरूको सर्त छ,” लामिछानेले भन्नुभयो ।
भिमविरेश्वर मन्दिर तथा सत्तल निर्माण गराएका प्रथम प्रधानमन्त्री भीमसेन थापाको जन्म बोलाङ्को पिपलथोकमा भएको हो । त्यहाँ अहिले पनि उहाँले पुरानो घर रहेको छ । उहाँको घर रहेको गाउँपालिकाको नाम नै भीमसेन थापा गाउँपालिका राखिएको छ ।
गोर्खा भीमसेन थापाको जन्मघर बाहेक प्रथम सहिद लखन थापाको पनि जन्मस्थल हो । अर्को चर्चित धार्मिक पर्यटकीय स्थल मनकामना पनि गोर्खा जिल्लामै पर्ने भएकाले धार्मिक तथा ऐतिहासिक दृष्टिले गोर्खा महत्त्वपूर्ण गन्तव्य जिल्लाको रुपमा विकसित हुँदै गएको नाम्जुङ सेवा समितिका अध्यक्ष बन्जाराले बताउनुभयो ।