काठमाडौं । नेपाली कांग्रेसका संस्थापक एवम् २०४६ को जनआन्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहको २३औँ स्मृति दिवस आज मनाइदै छ ।
कोरोना महामारीका कारण भौतिक सहभागीता सहितका कार्यक्रमहरु गर्न नसकेपनि अनलाइन मार्फत हुने कार्यक्रममा उहाँको स्मरण गरिदैछ ।
मुलुकमा विवादित अवस्थामा रहेका कम्युनिष्टलाई एक ठाउँमा ल्याउन सिंहको महत्वपूर्ण भूमिका रहेको मानिन्छ । तर अहिले कम्युनिष्टहरुले भने अपेक्षित काम गर्न नसकेको धेरैले बताउने गरेका छन् ।
काठमाडौंको खानदानी परिवारमा जन्मिएका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषदको सदस्य भई राणा शासन हटाउने राजनीतिमा लाग्नु भएको थियो ।
भद्रगोल जेल फोडेर भागेपछि भारत प्रवासमा गएको बेला वीपी कोइरालासँग मिलेर उहाँले २००३ सालमा नेपाली कांग्रेस स्थापना गर्नु भएको थियो ।
२००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उहाँले बीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गनु भएको थियो भने संर्घषका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा चिनिनुहुन्थ्यो ।
पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्रीसमेत बनेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर काराबासको सजायँ भाग्नु भएको थियो ।