काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले कांग्रेस सामूहिक छलफलमा नभएको कारण र सिमीत व्यक्तिहरुको स्वार्थ केन्द्रित भएका कारण आज सत्ता बाहिर हुनुपरेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले भन्नुभयो, ‘अहिले कांग्रेसको हातमा पार्टीले समर्थन गरेका व्यक्ति नै प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री राष्ट्रपति हुन्थ्यो, यति धेरै रोइलो गर्नुपर्ने स्थिती नै आउने थिएन । कांग्रेस सामुहिक छलफलमा नभएको कारण र सिमीत व्यक्तिहरुको स्वार्थ केन्द्रित भएका कारणले गर्दा आज यो अवस्था आएको हो । ’
कांग्रेसको अहिले छेउमा बसेर कचौरी थापे जस्तै स्थिती आएको नेता भण्डारीको भनाइ छ । अब राष्ट्रपतिमा पनि कांग्रेसले साममुहिक छलफल नगरि सानो समूहको निर्णयमा जाने हो भने फेरि असफलतातर्फ जाने खतरा बढ्नेतर्फ नेता भण्डारीले सचेत गराउनुभयो ।
अर्को फरक प्रसंगमा नेता भण्डारीले नेपाल र भारतबीचको सम्बन्ध प्राकृतिक, धार्मिक, सांस्कृतिक र कसैले पनि तोड्न नसक्ने भाइरचाराको सम्बन्ध रहेकाले नेपाली नेता भारत भ्रमणमा जानु, भारतीय नेता नेपाल भ्रमणमा आउनुलाई सामान्यरुपमा लिनुपर्ने बताउनुभएको छ ।
नेता भण्डारीले भन्नुभयो, ‘नेपाल र भारतको विकाशको निम्ती प्रकृती, स्रोत र साधनले दुवै पक्षलाई के फाइदा भएको छ, लगानीमा कस्तो फाइदा भएको छ भन्ने आधारमा सम्बन्धको कुरा गरियो भने सफलता र असफलता हुन्छ तर आएको गएको, खाएको, बसेका जस्ता कुराले कुनै अर्थ राख्दैन । त्यसैले सम्बन्धने दिने फाइदा र राम्रा पक्षलाई जोड दिनुपर्छ । ’