काठमाडौं। नेपाल चिकित्सक संघले देशभर आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने आन्दोलन फिर्ता लिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बिहान सरकारी टोली र संघबीच भएको वार्तापछि ६ बुँदे सहमति गर्दै जारी आन्दोलन फिर्ता लिएर चिकित्सकहरू काममा फर्कन तयार भएका हुन्।
वार्तामा चिकित्सक कुटिएको घटनाको समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने र चिकित्सक संघले आन्दोलन स्थगित गर्ने सहमति भएको छ ।
सहमति पत्रमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र चिकित्सकको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गर्नुभएको छ ।