काठमाडौं। मलेसियासँग सन् २०१८ मा गरिएको श्रम समझदारी पत्र (एमओयू) पुनरावलोकन गरिने भएको छ। त्यसका लागि अक्टोबरमा मलेसियन प्रतिनिधि नेपाल आउने भएका छन्। मलेसियाका श्रम मन्त्री नै नेपाल आउने सम्भावना रहेको र त्यसका लागि नेपाली राजदूतावासले गृहकार्य गरिरहेको छ।
यसअघि २ फेब्रुअरी २०२३ मा मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्माली नेपाल भ्रमणका क्रममा श्रम समझदारी पत्र परिमार्जन गर्ने विषयमा श्रम मन्त्री र प्रधानमन्त्रीसँग छलफल भएको थियो। छलफलमा श्रम समझदारी पत्रलाई श्रमिकमैत्री बनाएर अघि बढ्ने सहमति बनेको थियो।
नेपाल र मलेसियाबीच कामदार आपूर्ति थालेको १७ वर्षपछि २०७५ कात्तिक ११ गते २८ अक्टोबर २०१८ मा श्रम समझदारी पत्र एमओयूमा हस्ताक्षर भएको थियो। एमओयू भएको ५ वर्षपछि पुनरावलोकन गर्न लागिएको हो ।
पुनरावलोकनपछि एमओयूमा उल्लेख रहेको रोजगारीका लागि मलेसिया जाने कामदारको सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले नै बेहोर्नुपर्ने समझदारी र मलेसियामा ‘फ्री भिसा फ्री टिकट’ पुर्ण कार्यान्वायन हुनेछ।
अहिले समझदारीभन्दा बाहिर गएर लाखौं रुपैयाँ तिरेर नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य छन्। नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अहिले विभिन्न देशसँग भएका श्रम सम्झौताहरू नवीकरण गर्दै लैजाने रणनीति लिएको छ।