काठमाडौं । नेपाल एपीएफ स्कुल कीर्तिपुरमा सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता समुद्घाटन भएको छ । काठमाडौं उपत्यकाका १७ विद्यालयहरू र काभ्रे जिल्लाबाट नेपाल पुलिस स्कुल, साँगा एक गरी जम्मा १८ वटा विद्यालयहरूले यस प्रतियोगितामा भाग लिएका छन्। लीग कम नकआउट आधारमा सञ्चालन गरिने उक्त प्रतियोगिता विद्यालयका प्राचार्य श्री युवराज पराजुली र विद्यालय समादेशक स.प्र.ना.उ. लक्ष्मी थपलियाबाट संयुक्त रुपमा समुद्घाटन गरिएको छ ।

आज भएको उद्घाटन खेलमा आयोजक नेपाल एपीएफ स्कुलले हारति शिक्षा मन्दिर विद्यालयलाई ७—० गोल अन्तरले पराजित गरेको छ । जसमा नेपाल एपीएफ स्कुलका अविन बस्याल, रोहित गोले, डम्बर वि.क. र विवेक पश्चिमा थारुले एकएक गोल गरेका थिए भने तेन्जिङ्ग शेर्पाले दुई गोल गरेका थिए । यस्तै एक आत्मघाती गोल समेत भएको थियो। आजै सम्पन्न भएको दोस्रो खेलमा सैनिक आवासीय महाविद्यालयले नाईटिङ्गल ईन्टरनेशनल स्कुललाई १२—० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । जसमा सैनिक आवासीय महाविद्यालयको तर्फबाट उज्ज्वल राई पाँच, अफ्रेज अलि तिन, दीपेश दुर्जन, कृष्ण थापा, अनुभव पुरी र दक्ष लामाले एकएक गोल गरेका थिए ।
त्यसैगरी भोलि हुने लिग चरणका खेलहरूमा ल्याब्रेटोरी माध्यमिक विद्यालयविरुद्ध डी.ए.भि. स्कुल र ग्रिन भिलेज एजुकेसन फाउण्डेशनविरुद्ध ब्लुम नेपाल स्कुलले प्रतिस्पर्धा गर्ने छन् ।