काठमाडौं । न्यु डायमण्ड स्पोर्ट्स क्लबले छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार(आज) भएको फाइनलमा साबिक विजेता एपीएफ क्लबलाई ३-२ को सेटमा हराउँदै न्यु डायमण्ड च्याम्पियन बनेको हो ।
पहिलो पटक च्याम्पियन बन्ने क्रममा न्यु डायमण्डले एपीएफलाई २८-२६,१९-२५,२५-२२,२४-२६ र १५-९ ले हराएको हो ।
यससँगै न्यु डायमण्ड अपराजित रहँदै च्याम्पियन बनेको हो ।
उपाधिसँगै न्यु डायमण्डले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता एपीएफले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रो बनेको पुलिसले ७५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
आज नै भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सेटमा हराउँदै नेपाल पुलिस क्लबले तेस्रो स्थान हासिल गरेको हो ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा ४ टोलीको सहभागिता रहेको थियो ।