Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रविलाई रामहरिको कटाक्ष–‘परालको आगो जति छिटो बल्छ, त्यति नै छिटो निभ्छ’

रविलाई रामहरिको कटाक्ष–‘परालको आगो जति छिटो बल्छ, त्यति नै छिटो निभ्छ’

  • सोमवार, माघ २३ २०७९

  • 587
    SHARES

  • रविलाई रामहरिको कटाक्ष–‘परालको आगो जति छिटो बल्छ, त्यति नै छिटो निभ्छ’
    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद्को रोस्ट्रममा प्रधानमन्त्रीजस्तो भएर प्रस्तुत भएको आरोप लगाउनुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग बोल्दै नेता खतिवडाले सत्तारुढ गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम सदनमा प्रस्तुत नगरिसकेको अवस्थामा पूर्वप्रधानमन्त्री केपी ओली संसद्माको रोस्ट्रममा प्रधानमन्त्रीजस्तो भएर प्रस्तुत भएको आरोप लगाउनुभयो । उहाँले त्यसका कारण आफूले नियमापत्ति गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
     
    ओलीले भनेजस्तै कांग्रेस सरकार ढाल्न लागेको हो भन्ने धमलाको प्रश्नमा उहाँले भन्नुभयो, ‘ओलीजी अलिकति हतारिनुहुन्छ । अलिकति बहकिनुहुन्छ । हिजो दुई तिहाइ नजिकको सरकार ढाल्ने उहाँ नै होइन ? साढे तीन वर्षसम्म कांग्रेसले कहिल्यै रुवाबासी गर्‍यो ? प्रधानमन्त्रीले राष्ट्रिय सहमतिमा जान्छु भन्ने अभिव्यक्ति दिँदैमा हतपताएर कन्पारो तताएर बस्नु जरुरी छैन । जनतालाई भ्रम पारेर मुलुक चल्छ ?’
     
    कांग्रेसको कारण भन्दा पनि केपी ओली र रवि लामिछानेका कारण सरकार ढल्ने खतिवडाले औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘यो सरकार हाम्रा कारणले ढल्दैन । ढल्छ भने ओली र रविको अहंका कारण ढल्छ । उहाँहरू आफू नभए मुलुक ध्वस्त भए पनि होस् भन्ने ढंगले प्रस्तुत हुनुभएको छ । तर कांग्रेस सरकार ढाल्ने पक्षमा छैन ।’
     
    उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सिलबरे कराईको संज्ञा दिनुभएको छ । खतिवडाले भन्नुभयो, ‘गृहमन्त्री गुम्दा रविजी विचलित मनस्थितिमा आउनुभएको छ । हामी उहाँले जस्तो नेता र पत्रकारलाई गाली गर्न चाहँदैनौं । एकचोटि चुनाव जित्दैमा मुलुक नै जितें भनेर प्रस्तुत हुन मिल्छ ? भोलि फेरि ठाउँ पाइहालिन्छ कि भनेर सरकारलाई समर्थन कायमै राखेर बार्गेनिङको बाटोमा लाग्नुभएको छ । अहिले रविजीलाई पीडा छ । को बोलें भन्ने हेक्का पनि छैन । सिलबरे कराई जति छिटो तात्छ, त्यति छिटो सेलाउँछ । परालको आगो जति छिटो बल्छ, त्यति छिटो निभ्छ ।’
     
    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सबैलाई मिलाएर जाने अभिव्यक्ति स्वागतयोग्य भएको पनि खतिवडाले सुनाउनुभयो । राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेलको सम्भावना रहेको पनि खतिवडाले बताउनुभयो । 
     


    सोमवार, माघ २३ २०७९०९:५५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij