काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सम्पूर्ण वचतकर्ताहरुको रकम सुरक्षित रहेको जनाएको छ। उस्ले आफ्ना सबै सदस्यलाई नआत्तिन आग्रह गर्दै वचत रकम फिर्ता गर्न सञ्चालक समिति प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।
शिवशिखर सहकारीलाई जोडेर बिभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै शिवशिखर सहकारीको सञ्चालक समितिले सहकारीप्रति रहेको विश्वास नगुमाउन आग्रह गरेको छ। सहकारीले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण बचतकर्ताको रकम सुरक्षित रहेको उल्लेख गरेको छ ।
सहकारीले सबैको बचत रकम फिर्ता गर्न सञ्चालक समिति प्रतिबद्ध रहेको बताउँदै एकै पटक धेरै शेयर सदस्य वचत फिर्ता लिन आउँदा देशभरि नै सहकारीलाई बचत फिर्ता गर्न केही असहज भएको प्रष्ट पारेको छ ।
मागेको समयमा रकम दिन नसक्दा सहकारी दुःखी रहेको उल्लेख गर्दै यस्ले शेयर सदस्यहरुमा परेको असुविधाप्रति सहकारी पूर्णरुपमा जानकार रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
विगतमा जुन विश्वासले सहकारीसंग जोडिएको हो त्यस्लाई कायम राख्न आग्रह गर्दै शिवशिखर सहकारीले स्थीर सम्पत्ति बेचेर भएपनि बचत फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
शिवशिखरले देशभर आफ्नो मुख्य कार्यालयसहित सदस्य सेवा केन्द्रसहित ३६ वटा कार्यालय रहेको जानकारी दिदैं सहकारीले कृषि उपज खरिद विक्रि, कृषि औजार, गार्डेंनमार्ट डिपार्टमेन्टल स्टोर लगायत साना तथा मझौला व्यवसायीहरुमा ऋण लगानी गरेको पनि विज्ञप्तिमा उल्लेख गरेको छ।
मुलुकमा देखिएको आर्थिक मन्दीका कारण ऋण लगानी नअठेपनि संस्थामा देखिएको समस्या समाधान गर्न सहकारी प्रयत्नशील रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।