काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले साच्चीकै योग्य नेतृत्वकर्तालाई राष्ट्रपतिमा ल्याउनुपर्ने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका खनालले एकताको प्रतिकको भूमिका खेल्न सक्ने, सरकारले गर्ने निर्णयहरुमा सहि मार्ग दिन सक्ने, संरक्षकत्व दिन सक्ने र सन्तुलित ढंगले राष्ट्रिय हितमा भूमिका खेल्ने व्यक्तिलाई राष्ट्रपतिमा ल्यायौ भने मुलुकको अग्रगति अगाडि बढ्न सक्ने बताउनुभयो ।
यस्तै नेता खनालले अहिलेको संसद र राजनीतिक दलहरुले मूल्याङकन गरि आफूलाई यो कारणले भूमिका खेल्नुपर्छ भनेर राष्ट्रपतिपदको जिम्मेवारीमा ल्याउन चाहन्छन् भने विचार गर्ने स्पष्ट पार्नुभयो ।
रास्वपाले गृह मन्त्रालय नै दावी गरिरहेको प्रसंगमा नेता खनालले रवि लामिछानेले पहिले नै सबै कुरामा ध्यान दिएर, प्रक्रिया पु¥याएर आएको भए नवदिप युवाका रुपमा स्थापित हुन सक्ने बताउँदै अहिलेको पछिल्लो परिस्थितीले लामिछानेको ‘इमेज’ मै ठुलो धक्का लागेको बताउनुभयो । अब यी सबै कुरामा ध्यान दिएर रास्वपाले आफ्नो पार्टीको इमेज बनाउनेतर्फ सोच्नु पर्ने भएकाले अहिले नै यो पद, उ पद भनेर लाग्ने हो भने पार्टी कै भविष्य माथि नै प्रश्न चिन्ह उठ्ने खतरा हुने पनि नेता खनालको भनाइ छ ।
यस्तै अहिलेको गठबन्धनमा खटपट भन्ने आइरहेको खबरमा उहाँले तत्कालै सत्तासाझेदार दलहरु टुट्ने संभावना नभएको पनि बताउनुभयो ।