काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अहिले जारी छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा सोमबारदेखि सुरु भएको बैठकमा आज पनि प्रधानमन्त्री एवम् अध्यक्ष पुष्पकमल दाहालसहित पार्टीका पदाधिकारीहरु सहभागी छन् ।
बैठकमा सरकार सञ्चालन र गठबन्धन, गृह मन्त्रालयका विषयमा देखिएको अन्योलता र राष्ट्रपतिको निर्वाचनको विषयमा छलफल भइरहेको छ ।
सत्ता गठबन्धनमा गृहमन्त्रालय र राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर मतभेद बढ्दो छ ।
सर्वोच्च अदालतले तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता अमान्य रहेको फैसला गरेपछि पदमुक्त हुनुभएको थियो ।
त्यसयता गृहमन्त्रालय प्रधानमन्त्री दाहाल आफैँले सम्हाल्नु भएको छ ।
तर नागरिकता पुनर्प्राप्ति गरिसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले पार्टीबाट समेत निर्णय गराएर पुनः आफैँले मन्त्रालय पाउनुपर्ने दाबी गरिरहनु भएको छ । मंगलबार बिहान मात्रै लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेर गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएर फर्किनु भएको थियो ।