काठमाडौं । कुनै पनि मुलुकले आफ्नो देशका नागरिकको वैयक्तिक र जैविक विवरण राख्दा राज्यबाट प्रवाह गर्ने सेवामा सहज हुने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक एवं सूचना अधिकारी लक्ष्मण ढकालले बताउनुभएको छ । नागरिकले पनि राज्यले सञ्चालन गर्ने यस्ता अभियानमा स्वःस्फूर्त सहभागिता जनाउनुपर्ने उहाँको धारणा छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम छलफल चौतारीमा कुरा गर्दै उहाँले नेपालमा पनि व्यक्तिगत घटना दर्ता अभियानका रुपमा अगाडि बढाइएको जानकारी दिनुभयो । व्यक्तिगत घटना दर्ताभित्र जन्म, विवाह, बसाइसराइ, सम्बन्ध विच्छेद र मृत्यु दर्ता पर्दछन् । नागरिकले आफ्नो जीवनमा यी पाँच व्यक्तिगत घटनालाई समयमै दर्ता गराउनु पर्दछ । निर्देशक ढकालले भन्नुभयो, ‘सुरुवातमा नागरिकहरुले यी व्यक्तिगत घटना दर्तालाई खासै चासो नदिएपनि समयक्रम सँगै यसको महत्वपनि बढ्दै गएको छ । राज्यबाट प्रवाह हुने सेवामा व्यक्तिगत घटना दर्ता अनिवार्य पनि छ ।
पुस मसान्तसम्मको तथ्यांक हेर्ने हो भने अनलाइनमार्फत् व्यक्तिगत घटना दर्ता गर्ने वडाको संख्या ६ हजार ५ सय १७ रहेको उहाँले जानकारी दिनुभयो । जसमा जन्म दर्ता २३ लाख ४४ हजार ६ सय ३५, मृत्यु दर्ता ५ लाख ९० हजार ५ सय ३८, विवाह दर्ता ९ लाख ४४ हजार ६ सय ९२, सम्बन्ध विच्छेद ३६ हजार ६ सय ७३ र बसाइसराई दर्ता ५ लाख ३० हजार १ सय २९ रहेका छन् । अनलाइनमार्फत् पुस महिनामा भएका व्यत्तिगत घटना दर्तामा जन्म ६७ हजार ३ सय ३९, मृत्यु १६ हजार १ सय ६०, विवाह २७ हजार ८ सय ८२, सम्बन्ध विच्छेद १ हजार ७ सय ६४ र बसाइसराई १३ हजार २ सय ७४ रहेका छन् । हालसम्म अनलाइन मार्फत् ४४ लाख ४६ हजार ६ सय ६७ व्यक्तिगत घटना दर्ता भएका छन् ।
निर्देशक ढकालले सामाजिक सुरक्षा कार्यक्रम पनि प्रभावकारिताका साथ अघि बढेको बताउनुभएको छ । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ७० वर्ष पुगेका ज्येष्ठ नागरिक, ६० वर्ष उमेर पुगेका क्षेत्र तोकिएका र दलित ज्येष्ठ नागरिक, ६० वर्ष उमेर पुगेका एकल महिला, विधवा महिला, पूर्ण अपांग भएका व्यक्ति, अति अशक्त अपांगता भएका व्यक्ति, लोपोन्मुख आदिवासी जनजाती र बालपोषण भत्तालाई समेटिएको छ ।
विभागले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सबै नागरिकमा समेत अपिल गरेको छ । सामाजिक सुरक्षा भत्ता लिने क्षेत्राधिकारभित्र परेका तर नलिने नागरिकलाई राज्यले सम्मानको समेत व्यवस्था गरेको छ ।