काठमाडौं । विभागीय नेपाल एपिएफ अपराजित रहँदै तेस्रो टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ । एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अपराजित रहँदै उपाधिनजिक पुगेको हो ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार(आज) भएको पहिलो सेमिफाइनलमा एपिएफले पुलिसलाई २५–१०, २५–२१ र २५–१८ को सोझो सेटमा पराजित गर्यो । टोलीका कप्तान तथा सेटर इम रानाविनाको पुलिसले टाइगर कपमा कुनै पनि खेलमा राम्रो प्रदर्शन गर्न सकेन ।
यसअघि लिगमा एपिएफले ३–१ को सेटमा जित निकालेको थियो । पराजित पुलिसले अब शनिबार तेस्रो स्थानको लागि आर्मी र गण्डकीबीचको पराजित टोलीसँग खेल्नेछ । आर्मी र गण्डकीबीचको दोस्रो सेमिफाइनल केहीबेरमा सुरु हुनेछ ।
महिलातर्फ घरेलु टोली गण्डकी प्रदेशलाई २५–१९, २५–१६ र २५–१६ को सोझो सेटमा पराजित गर्दै होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले तेस्रो स्थान हासिल गरिसकेको छ ।महिलातर्फको फाइनल भोलि हुनेछ । उपाधिका लागि एपीएफ र आर्मी भिड्ने छन् ।