काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले नेपाललाई एसीसी प्रिमियर कप आयोजना गर्न प्रस्ताव गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाललाई एसीसी प्रिमियर कप आयोजना गर्न प्रस्ताव आएको बताए । चन्दले एसीसीबाट आएको प्रस्तावमा छलफल भइरहेको समेत जानकारी दिए ।
पहिलो पटक आयोजना हुन लागेको एसीसी प्रिमियर कप एसिया कप तथा इमर्जिङ टिम्स एसिया कपको छनोट खेल हो । एक दिवसीय फर्म्याटमा आयोजना हुने प्रिमियर कपमा पहिलो हुने टोलीले एसियाका टेस्ट टिमहरू सम्मिलित एसिया कप खेल्न पाउनेछ । शीर्ष ३ मा रहने टोली भने इमर्जिङ टिम्स एसिया कपका लागि छनोट हुनेछ ।
प्रिमियर कपमा नेपाल सहित युएई, कुवेत, कतार, ओमान, हङकङ, सिंगापुर, मलेसिया र छनोटबाट आउने दुई टोलीको सहभागिता रहनेछ ।
यस संस्करणको एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।