Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गाडीभाडा ५० प्रतिशत बढाएर असुल्न सकिने सरकारी घोषणाको चौतर्फी विरोध

गाडीभाडा ५० प्रतिशत बढाएर असुल्न सकिने सरकारी घोषणाको चौतर्फी विरोध

  • मंगलवार, भाद्र ३० २०७७

  • 1.9K
    SHARES

  • गाडीभाडा ५० प्रतिशत बढाएर असुल्न सकिने सरकारी घोषणाको चौतर्फी विरोध

    काठमाडौँ – सरकारले आगामी असोज १ गतेदेखि लामो दूरीको सार्वजनिक यातायात खुला गर्नेे निर्णय गरेको छ । तर यात्रु भाडादरमा ५० प्रतिशत बृद्धि गर्न दिने घोषणा पनि सरकारले गरेपछि दसैँको मुखमा आम नागरिकहरुमा संकट पैदा भएको छ।

    सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले आगामी असोज १ गतेदेखि ५० प्रतिशत बढी भाडा लिन पाउने गरी लामो दूरीका सवारी साधन चल्न दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।

    कोरोना महामारीबाट बच्न भौतिक दूरी कायम हुने गरी एक सिटमा एकजना मात्र बस्न पाउने, उभिएर आवत जावत गर्न नपाउने, ढोकामा अनिवार्य स्यानिटाइजर राख्नुपर्ने, चालक र सहचालकसहित यात्रुले अनिवार्य रुपमा मास्क र पन्जा लगाउनुपर्ने मापदण्ड तोकेर यातायात चल्न दिने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका मन्त्री ज्ञवालीले जानकारी दिनभयो। उहाँले तोकिएको दर भन्दा अधिकतम ५० प्रतिशत बढीसम्म भाडा लिन पाउने सरकारीर घोषणा सुनाउनुभयो।

    सरकारले विकल्प नदिए असोज १ गतेबाट सबै सार्वजनिक यातायात आफूखुशी चलाउने चेतावनी दिएका यातायात व्यवसायीहरुमा मन्त्रिपरिषदको पछिल्लो निर्णयले खुशीयाली छाएको छ।

    तर नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले यसबारे बुधबार मात्रै पत्रकार सम्मेलन गरेर आधिकारिक धारणा बाहिर ल्याउने बताउनुभयो ।

    सरकारको पछिल्लो निर्णयमा टिप्पणी गर्न नचाहेको बताउँदै उहाँले यात्रुलाई खाना कहाँ र कसरी खुवाउने र बाटोमा यात्रु के कसरी चढाउने भन्ने विषयमा पनि स्पष्ट खाका सरकारले तयार पारिदिनुपर्ने बताउनुभयो।

    यात्राका लागि पीसीआर परीक्षण नेगेटिभ आएको रिपोर्ट अनिवार्य हुनुपर्ने मापदण्ड पनि सरकारले तोकेको छ । तर पीसीआर परीक्षणको शुल्क यात्रु आफैले तिर्नुपर्ने छ । एकातिर पीसीआर परीक्षणको दुई हजार भन्दा धेरै शुल्क र अर्काेतिर ५० प्रतिशत बढाइने गाडी भाडाले दसैँको मुखमा नागरिकहरुको ढाड सेकिने निश्चित बनेको छ ।

    लामो समयको लकडाउनपछि रोजगारी गुमाएका र भोकमरीको सामना गरिरहेका मानिसहरुलाई सरकारको पछिल्लो निर्णयले ठूलो आघात पु¥याएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताउनुभयो । ५० प्रतिशत भाडा बढाएर लिन पाउने सरकारी घोषणाप्रति उहाँले आपत्ति प्रकट गर्नुभयो ।

    प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेताहरुले पनि ५० प्रतिशत बढी भाडा असुल्न पाउने गरी सरकारले गरेको घोषणाप्रति आपत्ति जनाएका छन् ।

    पूर्वमन्त्री समेत रहनुभएका कांग्रेस नेता रमेश लेखकले पीसीआ परीक्षण पनि आफै गर्नुपर्ने र बढाइएको ५० प्रतिशत भाडा पनि नागरिक आफैले तिर्ने हो भने सरकार के का लागि हो भनेर प्रश्न गर्नुभयो ।

    उहाँले पीसीआर परीक्षणको सरकारले निशुल्क गर्नुपर्ने र सवारी भाडामा राज्यका तर्फबाट सहुलियत दिनुपर्ने माग गर्नुभयो । यस्तै सरकारले आन्तरिक हवाई यातायात पनि असोज १ गतेलदेखि नै खुला गर्ने निर्णय गरेको छ । होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ ।

    भदौ ३१ गतेसम्म रोक लगाइएको सीमा नाकालाई भने थप एक महिना बन्द गर्ने निर्णय सरकराले गरेको छ ।

     


    मंगलवार, भाद्र ३० २०७७०७:४७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij