काठमाडौं । मुलुकको नेतृत्व प्रति निराश बनेका जनताहरूले आआफ्नै शैलीबाट खबरदारी गरिरहेका छन् । सामान्य जीवनयापनमा समेत असहजता आउन थालेपछि विरोधका प्रकृति पनि बदलिँदै गएका हुन् । जनताले दिएको म्याण्डेड अनुसार राजनीतिक नेतृत्वको कार्यशैलीमा परिवर्तन नहुँदा जनताले पटक पटक धोका खाइरहेका छन् । टाढा जानै पर्दैन, २०४६ सालदेखि यताको राजनीतिक परिवर्तनले जनतालाई सार्वभौम त बनायो, विकास र रोजगारीका दृष्टिले अपेक्षित उपलब्धि हासिल हुन सकेन । त्यतिबेला मुलुकमा रहेका उद्योग व्यवसायहरूमा राजनीतिक भर्ती गरियो, सीप र क्षमता ह्रास हुँदै गएपछि विभिन्न बहानामा बन्द गरिए । त्यतिबेला देखि मुलुकमा कुनै पनि उद्योग धन्दाले उल्लेख्य प्रगति गर्न सकेको छैन । नीति निर्माण तहमा पुगेकाहरूको मनमौजीले यस्तो अवस्था सिर्जना भइरहेको छ । नागरिक अगुवा चरण प्रसाईंका अनुसार अहिले जनतामा दलहरूप्रति निकै वितृष्णा बढेर गएको छ ।
२०७२ साल वैशाख १२ गतेको भूकम्पले नेपालीको शरीरमा लागेको माटो टकटकिन नपाउँदै भारतले गरेको नाकाबन्दी, मुलुकमा हुने सरकार परिवर्तनले चीनसँगका नाकामा हुने बन्द, हालसम्म आइपुग्दा कोरोना महामारीको त्राहिमामले अर्थतन्त्रका सूचकमा आएको गिरावटले हरेक नेपाली नागरिक प्रताडना खेपिरहेको छ । को कसरी प्रताडित भइरहेको छ र कसले त्यो प्रताडना खेप्नै सक्दैन भन्ने सवालमात्रै हो । केही नयाँ अनुहार आए, जनताका सारथि बन्लान् की भन्ने आशा धेरैमा थियो तर त्यो आशामा बिस्तारै तुषारापात आइरहेको छ । यहाँ पद, पावर भन्दा जनतालाई जनजीविकाका सवालमा आवाज उठाउने नेतृत्व चाहिएको छ, त्यस्तो अभिभावक चाहिएको छ । तर यहाँ भर्खरै सरकारमा गएका नयाँ दलहरूको रवाफ ‘पुरानो बोतलमा नयाँ रक्सी’ भनेजस्तै भएको छ । विश्लेषक देवप्रकाश त्रिपाठीका अनुसार अनुहार फेरिए पनि आचरण नफेरिएकाले जनतामा नैराश्यता छाएको छ ।
अब नीति निर्माणमा मात्रै परिवर्तन भएर समाज रूपान्तरण होइन, आफ्नो आनीबानीमा परिवर्तन गर्न जरुरी छ । मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेका बेला सरकारमा थपिएका उपप्रधानमन्त्री, उनीहरूले लिने सुरक्षा र खर्चको दायरा, पदवहाली वा बिदाइ हुँदा थापिने खादा र पुष्पगुच्छा जसले कुनै वर्गलाई छाक टार्न पुग्न सक्थ्यो । सुन्दा विषय सानो लाग्न सक्छ तर यहीँ खर्चले सयौँ परिवारको बिचल्ली टार्न सकिन्छ ।