काठमाडौं । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन ।
कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस–सुन्तलि फाउन्डेसनले रङ्गशाला निर्माणका क्रममा रकम अभाव र १८ करोड ऋण तिर्न नसकेपछि भरतपुर महानगरपालिकालाई जिम्मा लगाउँदै निर्माण रोकेको हो ।
भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणका लागि त्रिभुवन विश्वविद्यालयको नाममा लालपुर्जा भएको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरिरहेको २० बिघा ६ कठ्ठा जग्गा उपलव्ध गराएको थियो । निर्माणको समयमा अत्यधिक ऋण भएपछि कहाँबाट तिर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएका कारण समस्या आएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो ।
विसं २०७५ माघ १६ मा महानगरपालिका र फाउण्डेसनबीच भएको सहमति अनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख थियो । सहमतिपत्रमा रङ्गशाला निर्माणका क्रममा ऋण लागे फाउण्डेसन वा महानगर कसको दायित्वमा पर्ने उल्लेख नभएकाले समस्या भएको उहाँको भनाइ छ ।
संघीय सरकारले रङ्गशाला निर्माणका लागि २२ करोड र प्रदेश सरकारले पाँच करोड बजेट विनियोजन गरिसकेको छ भने भरतपुर महानगरपालिकाले आन्तरिक आयबाट आठ करोड खर्च गरिसकेको छ । निर्माणका क्रममा लागेको ऋण तिर्ने उपाय नजुट्दा काम ठप्प भएको दाहालको भनाइ छ । रङ्गशाला निर्माणको काम महानगरको प्रथामिकतामा रहेको बताउँदै उहाँले सरकारी तवरबाट ऋण तिर्ने व्यवस्था हुन नसके फाउण्डेसनले फेरि अर्को अभियान चलाएर तिर्नुपर्ने बताउनुभयो।