काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा आर्थिक सामर्थ्य राम्रो बनाउन आवश्यक रहेको बताउनुभएको छ। आज कृषि विकास बैंकको वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले आर्थिक चुनौती खडा भएकाले आर्थिक सामर्थ्यलाई राम्रो बनाउन सरकारलाई सबैको साथ चाहिएको बताउनुभएको हो ।
उहाँले चालु आर्थिक वर्षको लक्ष्य भेटाउन नसकेको मात्र होइन, गत वर्षको भन्दापनि कम राजश्व संकलन भइरहेको जानकारी गराउनुभयो ।
नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले अर्थतन्त्र ठिक ठाउँमा ल्याउन मितव्ययता, खर्च र सुविधाको कटौतीका लागि सरकारले सिंगो देशलाई आह्वान गरिरहेको बताउनुभयो। उहाँले अबको प्राथमिकता अनुत्पादक क्षेत्रको खर्च कटौती रहेको धारणा पनि राख्नुभयो ।
सरकारले बाधा सिर्जना गर्ने नभई सहजीकरण गर्न लाग्ने पनि बताउनुभयो। उहाँले व्यवस्थापन र कर्मचारीबीचको सम्बन्ध शत्रुतापूर्ण नभई मित्रवत् हुनुपर्ने बताउनुभयो ।