काठमाडौं । प्रतिनिधिसभाका सभामुख पदका कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेले सभामुख पद आफूले जित्ने दाबी गर्नुभएको छ । प्रतिनिधिसभाका सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । संसद् भवनमा बिहान ११ बजेदेखि मतदान हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
सभामुखका लागि गठबन्धनबाट एमालेका देवराज घिमिरे र कांग्रेसका ईश्वरी न्यौपाने प्रतिस्पर्धामा छन् ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै न्यौपानेले एकीकृत समाजवादी( नेकपा एस) तमलोपा, जसपाले साथ दिने सहमति भइसकेकाले सभामुखमा जित्ने आधार भएरै उम्मेदवारी दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘निर्वाचनमा गएपछि सबैको जित र सबैको हार भन्ने कुरा हुँदैन । मलाई मेरो पार्टीले प्रस्ताव गर्यो, त्यसमा गठबन्धनमा रहेका दलहरुले समर्थन गर्नुभएको छ । म निर्वाचनमा होमिएकी छु, जित र हारलाई सहजैरुपमा स्विकार गर्छु । मेरो पनि चाहना छ, पार्टीले उम्मेदवार दिइसकेपछि म निर्वाचनमा विजयी भएपछि संसदलाई नजिकबाट नियालिरहेकी छु, म विजयी भैसकेपछि संसदको मर्यादालाई बचाइराख्न कोशिस गर्नेछु । विगतमा भएका गतिविधीहरुलाई हुन नदिने अठोट गर्छु । ’
एमालेका घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन् ।
न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, समर्थकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला र कांग्रेस सांसद रमेश लेखक छन् ।