काठमाडौं । बागमती प्रदेशले इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी—ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । जनता क्रिकेट पार्क क्रिकेट मैदानमा बुधबार(आज) भएको समूह चरणको अन्तिम खेलमा बागमतीले गण्डकी प्रदेशलाई ३७ रनले हराएको हो ।
बागमतीले दिएको १ सय ३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ५ विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो ।
गण्डकीका लागि सिमाना केसीले अविजित ३६ रन जोडिन । कप्तान सृष्टि जैसीले ३४ रन बनाइन् । बागमती प्रदेशका अश्मविना कर्माचार्यले ३ तथा बिपिसा शाही र साबिका यादवले १/१ विकेट लिइन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३५ रन जोडेको थियो । बागमतीका लागि कन्चन श्रेष्ठले ५६ रनको अर्धशतकीय इनिङ खेलिन् । त्यस्तै कप्तान अश्मविना कर्माचार्यले १८ रन जोड्दा सोनी पाख्रिनले १३ रन बनाइन् ।
अश्मिता खरेलले १२ र हेलिसा गुरुङले ११ रन जोडिन । गण्डकीका कुसुम गोदार,सृष्टि जैसी,निरुता जिटी र सिमाना केसीले १/१ विकेट लिए ।
यस जितसँगै समूह ‘ए’ को बागमतीले ३ खेलमा २ अंक जोड्यो । बागमती सान्त्वना जितसँगै प्रतियोगिताबाट बाहिरिएको छ । गण्डकी जित विहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।