काठमाडौँ – सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले यो निर्णय गरेको हो ।
स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात सुरू गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
यस्तै बैठकले सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई दिएको छ ।
आजको बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ती गर्ने निर्णय भने गरेन ।
कुलमानलाई दोस्रो कार्यकालका लागि पुनःनियुक्ती गर्ने अड्कलबाजी गरिएको थियो । सत्तारुढ नेकपाका प्रवक्ताले पनि आजको मन्त्रिपरिषद बैठकमा कुलमानलाई पुनःनियुक्तीको निर्णय हुने विश्वास सामाजिक सञ्जालमार्फत व्यत्त गरेका थिए । तर यसबारे कुुनै निर्णय भएन ।
यस्तै सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ।
सत्तारुढ नेकपाको निर्णयअनुसार राष्ट्रियसभाको रिक्त एक सिटमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय सरकारले गरेको हो।
२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य चुनावमा गौतम बर्दियाबाट पराजित भएका थिए।