काठमाडौं।बचतकर्ताबाट लाखौं ठगी गर्ने राष्ट्रिय सहकारी बैंक लिमिटेडका पूर्व सञ्चालक ध्रुब यादव पक्राउ परेका छन्। बचतकर्ताबाट संकलित लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा धनुषा प्रहरीले यादवलाई पक्राउ गरेको हो।
जिल्ला बचत तथा ऋण सहकारी संघ धनुषाका अध्यक्ष समेत रहेका यादवलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ। यादवलाई सहकारी संस्थाका बचतकर्ताको रकम ठगी गरेको तथा सहकारीमा जम्मा भएको रकम अपचलन गरेको उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको धनुषा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार एक सहकारीका बचतकर्ताले आफ्नो जग्गा सहकारीमा धितो राखी २५ लाख रुपैयाँ ऋण लिएको र पछि सो रकम फिर्ता गरेपनि यादवले लामो समयसम्म उनको जग्गा फुकुवा नगरि लिलामीको अवस्थामा पुर्याएकोले उनले दिएको उजुरीका आधारमा यादवलाई ठगी मुद्दामा पक्राउ गरिएको हो।
यादव मधेश प्रदेशको तत्कालीन कृषि मन्त्री शैलेन्द्र प्रसाद साहको सल्लाहकार समेत थिए ।