काठमाडौं । डडेलधुरामा बेपत्ता बालकको शव १८ दिनपछि माटोमुनी गाडेको अवस्थामा फेला परेको छ । १८ दिन पहिले हराइरहेका आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको शव माटोमुनि गाडेको अवस्थामा फेला परेको हो ।
पुस १२ गतेदेखि घरपरिवारको सम्पर्क बाहिर रहेका उनको परिवारले हराएको भन्दै प्रहरीलाई जानकारी दिएको थिएन। पुस २७ गते स्थानीयले प्रहरीलाई बालक सम्पर्कमा नरहेको बताएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानको क्रममा प्रहरीले शङ्कास्पदस्थल उत्खनन गर्दा बालकको शव फेला पारेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडुले जानकारी दिनुभयो ।
बालकको घरमा आमा, सौतेनी आमा र एक जना दाइ रहेका छन् । बुबा भने रोजगारीका लागि घर बाहिर छन् । घर परिवारबाटै उनको हत्या भएको हुन सक्ने भन्दै प्रहरीले मृतक बालककी आमा ३४ वर्षीय कलामती र सौतेनी आमा ३० वर्षीय जानकीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।