Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

कानुङ माघ्या सकराती र वन नाम्या

कानुङ माघ्या सकराती र वन नाम्या

  • शुक्रवार, पौष २९ २०७९

  • 1.8K
    SHARES

  • कानुङ माघ्या सकराती र वन नाम्या

    गोपाल राना मगर

    जातीय तथा सांस्कृतिक विविधता रहेको देश नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्व माघेसंक्रन्ति अर्थात् माघी पर्व हो । भिन्न भिन्न भेग र समुदायमा फरकफरक ढंगले पर्व मनाउने प्रचलन रहेको छ । माघ महिनाको सुरुवाती दिन अर्थात् माघ १ गतेको दिन धुमधामका साथ मनाउने यो पर्व विशेष गरी थारु समुदाय र मगर समुदायले मनाउने गर्दछन् । माघीलाई अन्य समुदायले समेत नमनाउने भने होइन, भिन्न–भिन्न विशेषता र तौरतरिकाले यो पर्व मनाइने गरिन्छ । यस पर्वलाई मगरहरुले राष्ट्रिय पर्वको रुपमा मान्दै आएका छन् । यस पर्वलाई मगर समुदायभित्र पनि भुगोलको आधारमा फरकफरक तरिकाले मनाउने गरिन्छ ।

    माघी पर्व मगर समुदायले २ दिनसम्म मनाउने चलन रहेको छ र यसलाई मगरहरुले पितृ पूजा गर्ने, चेलिबेटी पुज्ने पर्वको रुपमा मनाउने गर्दछन् । मगर समुदायमा वन तरुल बिना दिदीबहिनीहरुलाई पूजा गर्न नमिल्ने मान्यता रहिआएको पाईन्छ । अघिल्लो दिन अर्थात् पुस मसान्तको दिन दाजुभाई तरुल खोज्न जंगल तिर जाने गर्दछन् भने अबेरसम्म वन तरुल लिएर घरमा फर्किए पश्चात परिवारसँग तरुल पकाउनेदेखि भोलिपल्टको लागि मिष्ठान्न भोजनको तयारी गर्ने गर्दछन् ।

    मगर समुदायमा कुनै स्थानमा तीन दिन, कतै ५ दिनसम्म पनि माघीपर्व मनाउने गरिन्छ भने प्रायः जसो २ दिनसम्म यो पर्व मनाउने गरेको पाईन्छ । समय र स्थान अनुसार मनाउने माघीमा विशेष गरी खिचडी, तरुल, पिडालु, मासु, रक्सी आदि परिकार बनाएर खाने गरिन्छ । मुलतः माघ एक गते बिहानै उठेर नुहाइधुवाइ तथा घरको सरसफाई लिपपोत गरेपछि पितृहरूलाई सभ्झने परम्पराका रुपमा यस पर्वलाई लिइन्छ ।

    संक्रान्तिको दिन चेलिबेटीलाई निम्तो गरिन्छ, चेलीबेटीलाई मानसम्मानका साथ खानपिन गराएर चामल, पैसा, रक्सी नुन अदुवा टपरीमा पोको पारेर पठाउने चलन छ । कुनै कारणबस माइती आउन नसकेको खण्डमा पनि चेलीबेटीका लागि चामल, पैसा, रक्सीलगायत अन्य खानेकुरा उनीहरूको घरमै पठाउने चलन रहेको पाईन्छ । चेलीबेटीे पनि माइती आउँदा रक्सी, रोटी आदिको पाहुर ल्याउने चलन छ । पहिलो दिन आउन नभ्याएका पाहुनाहरु (चेली), दोस्रो दिन माइती आउने गर्दछन् । खासगरी माघेसंक्रन्तिलाई माइती चेलीको सम्बन्धलाई मजबुत बनाउने चाडको रुपमा पनि लिने गरिएको छ ।

    माघेसक्रान्तिको अघिल्लो दिन आ–आफ्नो टोलमा भेला भएर मासुका लागि सँुगुर, खसी÷बोका, राँगो आदि काट्ने गरिन्छ । मासु काटेको ठाउँमा भुटुवा पकाएर जाँड रक्सीसँग खाने र आवश्यकताअनुसार टोलवासीमा मासुको भाग लगाएर वितरण गरिन्छ । बिशेषगरी पाल्पाका मगरहरूले पुस महिनाको अन्तिम सातादेखि नै माघेसंक्रान्तिको तयारी स्वरुप जाँडरक्सी बनाउने, वनबाट पात टिपेर ल्याई दुनाटपरी सिउने, वनतरुल खन्ने र मासुका लागि सँुगुर, खसी÷बोका, राँगा आदिको काटमार गर्ने गर्दछन । माघेसंक्रान्तिलाई भुगोल र जातिगत आधारमा भिन्न–भिन्न ढंगले मनाइँदै आएता पनि मगर समुदायको यो पर्व मुलतः प्रकृतिसँग जोडिएको पाइन्छ । पछिल्लो समय बढ्दो बसाइसराइ तथा शहर केन्द्रित हुने मानिसको चाहनाका कारण यस पर्वलाई मनाउने तरिका बदलिँदै गएको देखिन्छ ।


    शुक्रवार, पौष २९ २०७९०६:००:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij