काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन ब्रोकर कम्पनीलाई नगद जरिवाना गरेको छ।
बोर्डले शनी सेक्युरिटीज, इम्पेरियल सेक्युरिटीज र त्रिशूल सेक्युरिटीजलाई नगद जरिवाना गरेको हो। केयर रेटिङ नेपाललाई भने स्पष्टीकरण सोधिएको बोर्डका एक अधिकारीले जानकारी दिनुभयो।
शनी सेक्युरिटीज कम्पनीले तोकिएको समयमा प्रतिवेदन पेस नगरेको भन्दै धितोपत्र बोर्डले १० हजार रुपैयाँ जरिवाना गराएको छ। यसैगरी, इम्पेरियल सेक्युरिटीजले त्रैमासिक आर्थिक प्रतिवेदन समयमा पेस नगरेको भन्दै ७५ हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरेको हो।
बोर्डले त्रिशूल सेक्युरिटीजलाई पनि त्रैमासिक आर्थिक प्रतिवेदन समयमा पेस नगरेकोमा ७५ हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरेको छ।
यस्तै, रेटिङ एजेन्सी केयर रेटिङ नेपाललाई स्पष्टीकरण सोधिएको छ। कम्पनीले रेटिङ नियमावली २०६८ को उल्लंघन गरी आफ्नो मुख्य शेयर धनीको रेटिङ गरेको भन्दै ऐन २०६३ को दफा १०१ को ७ अनुसार हदैसम्मको कारबाही किन नगर्ने भनी सफाइ पेस गर्न बोर्डले निर्देशन दिएको छ।