काठमाडौं । अर्थमन्त्रालयले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ)ले काभ्रेको बनेपामा बनाउन खोजेको नयाँ भवन निर्माण प्रक्रिया रोकेको छ । गत १२ असोजमा दिएको ४ अर्ब ५० करोडको स्रोत सुनिश्चितताको सहमतिलाई अर्थ मन्त्रालयले स्थगन गरेको हो ।
सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना गर्ने सरकारको निर्णय विगतदेखि नै विवादमा पर्दै आएको छ । यसकै लागि विदेशी कम्पनीको एजेन्ट विजय मिश्रसँग कमिसनको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिनुपरेको थियो ।
अब यससँगै सुरक्षण मुद्रण केन्द्रलाई भवनको ठेक्का तत्काल नलाग्ने भएको छ । प्रेस राख्न मिल्ने भूकम्पप्रतिरोधी विशेष प्राविधिक भवन बनाउन अर्थले यस्तो सहमति दिएको थियो ।
नयाँ सरकारको ११ पुसमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले मितव्ययिता कायम गर्ने गरी गरेको निर्णयअनुसार तत्काल उक्त भवन आवश्यक नरहेको ठहर गर्दै अर्थ मन्त्रालयले भवन निर्माणका लागि दिएको सहमति स्थगन गरेको बताएको छ ।
गत असोजमा अर्थ मन्त्रालयले यसअघि नेपाल सरकारको महत्वपूर्ण कागजात तथा कार्डहरु छपाइमा सहजता आउने र सुरक्षण फिचरहरु पनि भरपर्दो हुने भन्दै भवन निर्माणका लागि सहमति दिएको थियो ।