Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकारमा जाने र नजानेबारे नेकपा एकीकृत समाजवादी अनिर्णित, यस्तो छ तयारी (खासखबर)

सरकारमा जाने र नजानेबारे नेकपा एकीकृत समाजवादी अनिर्णित, यस्तो छ तयारी (खासखबर)

  • मंगलवार, पौष १९ २०७९

  • 565
    SHARES

  • सरकारमा जाने र नजानेबारे नेकपा एकीकृत समाजवादी अनिर्णित, यस्तो छ तयारी (खासखबर)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक पार्टी कार्यालय आलोकनगरमा दुई दिनसम्म चल्यो । बैठकले निर्वाचनको समिक्षाका साथै पार्टीभित्र देखिएका अन्तरविरोधबारे घनिभूत छलफल पनि गरेको छ । दुई दिन चलेको बैठकमा केही नेताहरुलाई कारबाहीको लागि सिफारिस गर्न माग उठेको थियो । नेता मुकुन्द न्यौपानेलगायत झन्डै १२० जना नेताहरुमाथि कारबाही गर्नुपर्ने माग गरिएको छ ।

    नेता न्यौपाने र सचिव रामकुमारी झाँक्रीले फरक पार्टीको पैरवी गरेकाले उनीहरूमाथि कारबाही हुनुपर्ने माग उठेको हो । पछिल्लो समय नेता न्यौपानेले एमालेसँग पार्टी एकता गर्नुपर्छ भनेर सार्वजनिक रूपमै अभिव्यक्ति दिँदै आउनुभएको छ । त्यस्तै झाँक्रीले पनि एमाले र माओवादीको पैरवी गरेको भन्दै बैठकमा एक पार्टीको जिम्मेवार नेताले अर्को पार्टीको पैरवी गर्न मिल्छ ? भन्दै प्रश्न गरिएको थियो । पार्टीका जिम्मेवार कतिपय नेताहरूले आफूअनुकुल गुटबन्दी गर्ने गरेकाले उनीहरूमाथि समेत छानबिन गरी कारबाही गर्नुपर्ने आवाज उठेको हो । पोलिटब्यूरो सदस्य दिलु पन्तका अनुसार पार्टीको हीत विपरित गएकाहरुलाई कारबाही सिफारिस हुनेछ ।

    बैठकले पार्टी पुनर्निर्माण, वर्गीय आन्दोलनलाई निरन्तरता, जनताको जनजीवन, उखु किसानका समस्या लगायतका विषयमा ठोस धारणा बनाएरै अगाडि बढ्ने निर्णय गरेको छ । सरकारमा सहभागी हुने–नहुने विषयमा छलफल गर्न सचिवालय बैठकलाई जिम्मा दिइएको छ । प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा जाने विषयमा कुनैपनि छलफल नभएको बताउँदै वामशक्तिहरुको एकतालाई मजबुद बनाउन प्रयास गरिने बताउनुभयो ।

    नेकपा एमालेबाट विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादी कांग्रेस नेतृत्वको गठबन्धन दलसँग निर्वाचनमा होमिएको थियो । प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षमा १० सिट जितेको एकीकृत समाजवादीले थ्रेस होल्ड भने कटाउन सकेन । पार्टीको आगामी भविष्य के हुने भन्ने अन्योलताका बीच केही नेताहरुले एमालेलगायतका दलहरुसँग वान टू वान वार्ता गरिरहेका छन् । माओवादी केन्द्रले बीचमै धोका दिएपछि एकीकृत समाजवादीलाई के गर्ने भन्नेमै अन्योलता रहेको छ । अधिकांश नेताहरुले वामशक्तिहरु एककठ्ठा भएर अगाडि जानुको विकल्प नभएको बताउँदै आएका छन् । समग्र राजनीतिक परिदृष्यलाई हेर्दा नेकपा एकीकृत समाजवादीले विवेककोे निर्णय लिन नसके फुर्सदमा पछुताउनुपर्ने निश्चित प्रायः छ ।

     


    मंगलवार, पौष १९ २०७९०७:५४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij