काठमाडौं । नेपाल टी—ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा सोमबार(आज) दुई खेलहरू हुँदैछन् । आजको पहिलो तथा प्रतियोगिताको उन्नाईसौं खेलमा पोखरा एभेन्जर्स र काठमाडौं नाईट्सबीच खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
पाँच खेल खेलेर ३ जित तथा २ हार हात पारेर ६ अंक सहित काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। सात खेलमा दुई जित हात पारेको पोखरा चार अंक सहित अंक तालिकाको चौथो स्थानमा रहेको छ । यही संस्करणको पहिलो भेटमा काठमाडौंले पोखरालाई २६ रनले हराएको थियो ।
आज नै हुने दोस्रो खेलमा फार वेस्ट युनाईटेड र जनकपुर रोयल्स बीच खेल हुँदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ। छ खेलमा चार जित दुई हार सहित जनकपुर ८ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । पाँच खेलमा एक जित हात पारेको फार वेस्ट २ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ । यही संस्करणको पहिलो भेटमा फार वेस्ट जनकपुरसँग ८ विकेटले पराजित भएको थियो ।
दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । यस प्रतियोगिताको फाइनल खेल २७ गते हुनेछ । डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।