काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् । ३५ तोला सुन, नगद र चेक गरी २५ लाख रुपैयाँसहित पक्राउ परेका केसीलाई निलम्बन गरिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । व्यवसायीको सुन नै कब्जा गरेपछि केसीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको थियो ।
त्यसपछि उनलाई निलम्बनका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको थियो । हेडक्वार्टरको सिफारिस अनुसार गृहले केसीलाई निलम्बन गरेको हो ।
सुन कारोबारसम्बन्धी मुद्दामा असुली गरेको भन्ने सूचना आएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा सीआईबीको टोली खटिएको थियो । उक्त टोलीले केसीलाई नियन्त्रणमा लिएको थियो । व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर उनी आफैँले राखेको पाइएको छ ।
केसीको साथबाट प्रहरीले ३५ तोला सुन र २५ लाख रुपैयाँ बरामद गरेको थियो । २५ लाख रुपैयाँ बुझाउँदा पनि सुन फिर्ता नपाएपछि व्यापारीले प्रहरीलाई खबर गरेका थिए ।