काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच २० महिनापछि संवाद भएको छ ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ ग्रहण समारोहमा सहभागी हुन शीतल निवास पुगेका दुई पूर्वप्रधानमन्त्री एकै ठाउँमा बस्न पुगेका थिए । लामो समय एउटै पार्टीमा रहेका, तर अहिले अलग भएका दुई नेता भेट हुँदा लामो समय नबोली बस्ने अवस्था हुन्न ।
मञ्चमा शपथ ग्रहण चलिरहँदा ओलीले माधव नेपाललाई कोट्याएर सोधे, ‘तपाई बिरामी हुनुहुन्छ भन्ने सुनेको थिएँ । अहिले कस्तो छ ?’
निमोनियाको लक्षण देखिएपछि गत मंगलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका अध्यक्ष नेपालले अहिले आफ्नो अवस्था ठीकै रहेको बताउनुभयो । र, बेलाबेला स्वास्थ्यमा सामान्य समस्या आउने बताउनुभयो । त्यसपछि भने थप सम्वाद भएन ।
प्रधानमन्त्री र मन्त्रीहरुको शपथ सकिएपछि शीर्ष नेताहरुका लागि राष्ट्रपति कार्यालयले खाजाको व्यवस्था गरेको थियो । संयोग नै मान्नुपर्छ, फेरि ओली र नेपाल एकै ठाउँमा परे । त्यहाँ भने दुई नेताबीच राजनीतिक विषयमा पनि संवाद भएको नेताहरु बताउँछन् ।
दुई नेताको नजिकै रहेका एक सहभागीका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे टिप्पणी गर्दै एमाले अध्यक्ष ओलीले ‘म पनि किनारामा बसेर हेरिरहेको छु’ भन्नुभएको थियो । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि ‘तपाईं मात्र किन ? म पनि किनारामै बसेर हेरिरहेको छु’ भन्ने जवाफ दिनुभएको छ ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसँगै अलग भएका ओलीले हिजो मात्र प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गर्नुभएको थियो । त्यो सहमतिमा छुटेका नेपालसँग ओलीले आज गरेको सम्वादलाई अर्थपूर्ण मानिएको छ ।
किनकी ओली र नेपालपछि यसअघि २०७८ वैशाखमा मेरियट होटलमा वार्ता भएको थियो । एमालेको एकता जोगाउन प्रयासमा ओली र नेपालले लगातार दुई दिन ‘वान अन वान’ वार्ता गर्नुभएको थियो । त्यो बेला भएको सहमतिअनुसार २७ असार २०७८ मा दोस्रो तहका नेताहरुले १० बुँदे सहमति पनि गर्नुभएको थियो । तर भोलिपल्ट प्रतिनिधिसभा विघटन उल्टिएसँगै राजनीतिले अर्को कोर्स लियो । माधव नेपालले शेरबहादुर देउवाको पक्षमा मत मात्र दिएनन्, २ भदौ २०७८ मा एमाले फुटाएर एकीकृत समाजवादी बनाउनुभएको थियो ।
अहिले सत्ता गठबन्धनबाट अलग भएर प्रचण्डलाई सहकार्यमा आएसँगै एमाले नेताहरुले एकीकृत समाजवादीलाई पनि ल्याउने वार्ता भइरहेको बताएका छन् ।