काठमाडौं । राजधानीमा जारी नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आज सोमबार दुई खेल हुँदैछन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा लिगको पहिलो संस्करण जारी रहेको छ।
आजको पहिलो तथा प्रतियोगिताको पाँचौँ खेलमा फार वेस्ट युनाईटेड र काठमाडौं नाईट्स बीचमा खेल हुँदैछ । खेल बिहान ९ः१५ बाट सुरु हुनेछ ।
पहिलो खेलमा जित निकालेको काठमाडौं आजको खेलमा जित निकाल्दै लगातार दोस्रो जित निकाल्न चाहन्छ । काठमाडौंले शनिबार भएको उद्घाटन खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो ।
काठमाडौं १ खेलमा २ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । दोस्रो खेल खेल्न लागेको फार वेस्ट पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा फार वेस्ट लुम्बिनी अल स्टारसँग पराजित भएको थियो । फार वेस्ट १ खेलमा अंक विहीन रहेर अंक तालिकाको पुछारमा रहेको छ ।
आज नै हुने दोस्रो खेलमा विराटनगर सुपर किग्सं र जनकपुर रोयल्स बीच खेल हुँदैछ । खेल दिउसो १ः१५ बाट सुरु हुनेछ । पहिलो खेलमा पराजित विराटनगर पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा विराटनगर लुम्बिनी अल् स्टारसँग पराजित भएको हो ।
विराटनगर १ खेलमा अंक विहीन रहेर अंक तालिकाको चौथो स्थानमा रहेको छ । पहिलो खेलमा पोखराविरुद्ध सहज जित निकालेको रोयल्स लगातार दोस्रो जित निकाल्न चाहन्छ । रोयल्स १ खेलमा २ जितका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । यस प्रतियोगिताको फाइनल खेल २७ गते हुनेछ । डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ ।
यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौथोले ५ लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।