काठमाडौं । साविक उपविजेता क्रोएसियालाई हराउँदै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
दोहाको लुसेल रंगशालामा आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।
अर्जेन्टिनालाई जित दिलाउन जुलियन अल्भारेजले दुई गोल गरे । कप्तान लियोनल मेस्सीको नाममा एक गोल रह्यो । खेलको ३४ औं मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।
क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले अल्भारेजलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । जसमा मेस्सीले सहजै गोल गरे ।
विश्वकपमा मेस्सीको यो अर्जेन्टिनाका लागि कीर्तिमानी ११ औं गोल हो । मेस्सीले गाब्रिएल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोडेका हुन् ।
मेस्सीले यस खेलबाट विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमानमा समेत बराबरी गरेका छन् ।
दुई पटकको च्याम्पियन अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनलमा पुगेको हो । यस हारसँगै क्रोएसियाको विश्वकप यात्रा भने टुंगिएको छ ।
साविक विजेता फ्रान्स र मोरक्कोबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ ।