काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा सोचेजस्तो सिट नआए पनि राष्ट्रिय राजनीतिमा आफूहरुको भूमिका निर्णायक रहेको दावी गर्नुभएको छ ।
आज माओवादी निकट निजामती कर्मचारीको कार्यक्रममा उहाँले राष्ट्रिय राजनीतिमा आफूहरुको भूमिकालाई कसैले अवमूल्यन गर्न नसक्ने बताउनुभयो ।
‘१२२ पालिका माओवादीको कन्ट्रोलमा हुने भनेको सानो कुरा होइन, प्रदेशमा हामी ७४ को हाराहारीमै छौं । तर संघमा हामीले सोचेजस्तो, अपेक्षा गरेजस्तो भएन’ उहाँले भन्नुभयो, ‘हाम्रो भूमिका खुम्चियो भन्ने होइन । राष्ट्रिय राजनीतिमा हाम्रो भमिका केन्द्रीय नै छ, त्यसलाई कसैले खोस्न सक्दैन ।’
प्रचण्डले चुनावी परिणामबाट निराश हुन नपर्ने बताउनुभयो । २०६४ सालको निर्वाचनमा माओवादीले धेरै सिट जित्दा अरु पार्टी निकै सानो आकारमा पुगेको भन्दै उहाँले आत्मसमीक्षा गरेर मिहिनेत गर्ने हो भने पुन संगठित हुन सक्ने बताउनुभयो ।
अहिलेको चुनावले नेपालमा दूषित हावा चल्ने हो कि भन्ने आशंका देखिएको पनि प्रचण्डले बताउनुभएको छ ।