काठमाडौँ – यातायात व्यवसायीहरुले सरकारले विकल्प नदिए आगामी असोज १ गतेदेखि लामो तथा छोटो दूरीका सम्पूर्ण यातायातका साधन सञ्चालनमा ल्याउने चेतावनी दिएका छन्।
सरकारको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भन्दै आगामी भदौ मसान्तसम्म लामो तथा छोटो दूरीका यातायातका साधन सञ्चालनमा रोक लगाएको छ।
यद्यपि संक्रमणको फैलावटको क्रम नरोकिए असोज १ गतेदेखि फेरि पनि यातायातका साधन चल्न नपाइने निर्णय सरकारबाट हुने सम्भावना छ।
तर अब आफूहरुको धैर्यताको बाँध भत्केको भन्दै यातायात व्यवसायीहरुले असोज १ गतेदेखि सरकारले अनुमति नदिए पनि सबै यातायातका साधन सञ्चालनमा ल्याउने घोषणा गरेका हुन्।
आज यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा व्यवसायी र मजदुर संगठनले यातायात खुलाउन सहजीकरण नगरे विश्वकर्मा पूजाको दिन पारेर असोज १ देखि लामो तथा छोटो दूरीका यातायात चलाउने घोषणा गरेका हुन्।
तर यातायात व्यवस्था विभागले भने यातायात चल्ने दिने निर्णय आफूहरुले गरेर नभई मन्त्रिपरिषदबाटै हुनुपर्ने जवाफ व्यवसायीहरुलाई दिएको छ।
सरकारले भने परिस्थितिको आँकलन गरेर निर्णय दिने बताएको छ।
यता जनस्वास्थ्यविदहरुले आवश्यक सावधानीको पर्याप्त पालना नगरेरै सार्वजनिक यातायात सञ्चालनमा आए स्थिति थप भयावह हुन सक्ने चेतावनी दिएका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख जनस्वास्थ्यविद डा. बाबुराम मरासिनिले सार्वजनिक यातायातका साधन सञ्चालनमा ल्याउँदा गम्भीर भएर सतर्कता अपनाउनुपर्ने सुझाव दिनुभयो।
पीसीआर परीक्षण त परै जाओस् यात्राका क्रममा ज्वरो समेत नाप्ने परम्पराको थालनी नभएको नेपालमा यातायात सञ्चालन गर्दा स्थिति थप भयावह हुन सक्ने उहाँको चेतावनी छ।
हुन त संक्रमणको खराब स्थितिबाट गुज्रिरहेको भारत लगायतका देशमा पनि सार्वजनिक यातायातका साधन सञ्चालनमा आइसकेका छन्।
तर कोरोना रोकथामका लागि जारी लकडाउनपछि सार्वजनिक यातायातका साधन सञ्चालनमा ल्याइएका ती स्थानमा संक्रमणको ग्राफ झन झन उकालो लागेको तथ्यबाट नेपालले पाठ सिक्नुपर्ने जनस्वास्थ्यविद डा. मरासिनीको भनाई छ।
उहाँले यातायातका साधनहरुमा सरसफाईदेखि लिएरु अन्य सबै प्रकारका सुरक्षात्मक उपायहरुको अनिवार्य पालना पहिलो सर्त हुनुपर्ने बताउनुभयो।
यातायात व्यवसायीहरुले भने सुरक्षाका लागि अपनाउनुपर्ने सबै मापदण्डको पालना गर्न आफूहरु तयार रहेको बताएका छन्।
नेपालमा कोरोना नियन्त्रणका लागि गत चैत ११ गते लकडाउन गरिएपछि लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन्।