काठमाडौं । नेपाली अर्थतन्त्रमा पछिल्लो समय खतराको संकेत देखिइरहेको छ । आयात बढेको छ । तरलताको समस्या देखिएको छ । व्यापार घाटा बढेको छ । शोधनान्तर घाटा बढेको छ र महत्त्वपूर्ण कुरा विदेशी विनिमय सञ्चिति घटिरहेको छ । अर्कातिर सरकारको पुँजीगत खर्च हुन सकेको छैन । आयात बढ्दा त्यसले विदेशी विनिमय सञ्चिति घटाएको भन्दै राष्ट्र बैंकले केही वस्तुको आयातमा कडाइ गरेको छ । तर, आयातमा कडाइ गर्दा त्यसका सकारात्मक नकारात्मक दुवै असर पर्ने कुराहरू पनि चर्चामा आइरहेका छन् ।
खस्किँदो यो अर्थतन्त्र हालै सम्पन्न भएका स्थानीय र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले पनि सोचेअनुसारको चलायमान बनाउन नसक्दा थप चुनौती पूर्ण बन्दै गएको विज्ञहरूले समेत बताउने गरेका छन् । यसतर्फ राज्यले समयमै ध्यान नदिने र नसोच्ने हो भने नेपालको अर्थतन्त्र थप सकसपूर्ण बन्दै जानेमा यतिबेला आम चिन्तासमेत बढेको छ । त्यतिमात्र नभई अहिले आर्थिक क्षेत्रमा टाट पल्टिएको श्रीलङ्कासँग तुलना गरेर नेपाली अर्थतन्त्रमा उत्पन्न समस्या जतिसक्दो छिटो समाधान नगरे पनि सोही लय समात्ने जोखिम बढेको समेत विज्ञहरूको गुनासो सुनिन्छ ।
यसरी अर्थतन्त्र खस्किँदो लय समाएपछि पछिल्ला दिनहरूमा राजनीतिक दलका नेताहरूले समेत अर्थतन्त्र समस्यामा रहेको बताउन थालेका छन् । आज मात्रै एक कार्यक्रममा बोल्दै राजनीतिक दलका नेताहरू र जानकारहरूले नेपालको अर्थतन्त्र समस्या र जटिलता उन्मुख रहेको स्वीकारेका छन् । उनीहरूले यसको निकासका लागी अर्थतन्त्रमा ठुलो योगदान दिने निजी क्षेत्रसहितका सम्बद्ध निकायसँगको सहकार्यमा जोड दिनुपर्ने पनि बताएका छन् ।
यतिबेला देशको अर्थतन्त्र समस्यामा रहेकोले अर्थतन्त्रमा देखिएको समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने पूर्व अर्थमन्त्री समेत रहनुभएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको भनाई छ । पौडेलले समस्या के हो ? कसरी समाधान गर्न सकिन्छ? भन्नेतर्फ लाग्नुपर्ने बेलामा एकअर्कालाई दोषारोपण गरेर मुक्ति नपाइने भन्दै निजी क्षेत्रको मनोबल गिरेकाले त्यसलाई समेत उठाउनुपर्ने बताउनुभयो ।
अर्थतन्त्रमा समस्या रहेकोले अर्थतन्त्र खस्किनुमा कानुन दोषी भए संशोधन नै गरेर भएपनि समस्या समाधान गर्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा बताउनुहुन्छ । उहाँले प्रधानमन्त्री यो समस्यातर्फ कत्तिको जानकार र गम्भीर हुनुहुन्छ भन्ने कुरा प्रमुख भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा गम्भीर बनेमा यसको निकास तत्काल खोज्न सकिने बताउनुभयो ।
अर्थतन्त्र चलायमान बनाउन ठुलो सहयोग र योगदान रहेको निजी क्षेत्र भने राज्य जिम्मेवार नबनेकोले अर्थतन्त्रमा समस्या आएको बताउँछ । उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा पनि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार फराकिलो छाती बनाएर आए समस्या समाधान गर्न सकिने बताउनुहुन्छ । निजी क्षेत्रसँगको सहकार्य विना देशको समृद्धि नै सम्भव नभएको बताउँदै उहाँले सहकार्यका लागी आह्वान गर्नुभयो ।
अहिले नेपालमा वित्तीयका अतिरिक्त राजनीतिक सुशासनको अभावले पनि आर्थिक सङ्कट निम्त्याउन सक्ने कतिपय विज्ञहरूले चेतावनी दिँदै आएका छन् । नातावाद, कृपावाद, भ्रष्टाचार, बेथिति र जबाफदेहीपनको अभावमा नेपाल टाट पल्टिएको श्रीलङ्काभन्दा पछाडि नरहेको उनीहरूको भनाइ छ । बाह्य परिस्थिति झन्–झन् चुनौतीपूर्ण भइरहेको बेला अर्थतन्त्रमा गम्भीर भएर पाइला चाल्नुपर्ने समय भने आइसकेको देखिन्छ । यसका लागी सम्बद्ध निकायहरूसँग सहकार्य र परामर्श गर्न जरुरी छ ।