Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

यूएईविरुद्धको एकदिवसीय शृंखला जित्न नेपाल सफल

यूएईविरुद्धको एकदिवसीय शृंखला जित्न नेपाल सफल

  • शुक्रवार, मंसिर २ २०७९

  • 502
    SHARES

  • यूएईविरुद्धको एकदिवसीय शृंखला जित्न नेपाल सफल

    काठमाडौं । आसिफ शेखको अविजित अर्धशतकप्रेरित नेपालले निर्णायक खेलमा ६ विकेटको जितसहित यूएईविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला घरमै राख्न सफल भएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर एक सय ७६ रनको योगफल तयार गरेको थियो।

    जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४०।१ ओभरमा चार विकेट गुमाएर एक सय ८० रनसहित लक्ष्य पूरा गर्यो।

    नेपालका ओपनर अर्जुन साउद ३३ बलमा ९ रन जोडेर पेभेलियन फर्केका थिए। यद्यपि, ज्ञानेन्द्र मल्ल र आसिफले दोस्रो विकेटका लागि एक सय २२ रनको साझेदारी गर्दै लक्ष्यतर्फ डोर्‍याए। वान् डाउनमा क्रिजमा उत्रिएका ज्ञानेन्द्र ७३ बलमा सात चौका र तीन छक्कासहित ६४ रनको अर्धशतकीय इनिङ खेलेर पेभेलियन फर्के।

    नेपाललाई जिताउन महत्त्वपूर्ण इनिङ खेलेका आसिफ एक सय १९ बलमा १२ चौकासहित ८८ रनमा अविजित रहे। यस्तै, कप्तान रोहित पौडेल १० रनमा आउट भए।

    यूएईका लागि हजरत बिलाल र आयान खानले एक-एक विकेट लिए। पहिलो इनिङमा खराब सुरुआत गरेको यूएईले चौथो ओभरको पहिलो बलमा तीन विकेट गुमाएको थियो।

    त्यसपछि सम्हालिने कोसिस गरेको यूएईका रोहन मुस्ताफा र अलिशान साफरुले ६३ रनको साझेदारी गरेका थिए। तर, त्यसपछि लगातार विकेट गुमाएको यूएईले ३१.१ ओभरमा ९ विकेट गुमाएर ९३ रन बनाएको थियो।

    अन्तिम विकेटका लागि हजरत बिलाल र आयान खानले इनिङकै ठूलो ८३ रनको साझेदारी गर्दै यूएईलाई अनपेक्षित योगफलतर्फ अगाडि बढाए। यूएईका लागि शानदार ब्याटिङ गरेका आयानले ६० बलमा सात चौका र एक छक्कासहित अर्धशतक पूरा गरेर ५४ रनमा अविजित रहे। अर्कातिर हजरत २० रनमा अविजित रहे।

    नेपालका लागि कुशल भुर्तेल, गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले दुई(दुई विकेट लिए। सोमपाल कामी र ललित राजवंशीले एक(एक विकेट हात पारे।

    तीन खेलको शृंखलाको पहिलो दिन नेपाल ८४ रनले पराजित भएको थियो। बुधबार भएको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा ३ विकेटको जित निकालेको नेपालले पुनरागमनसहित शृंखला घरमै राखेको छ।


    शुक्रवार, मंसिर २ २०७९०३:५६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij