काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सोमवार(आज) दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदान र मुलपानी मैदानमा आज एक एक खेल हुँदैछन्।
टियु क्रिकेट मैदानमा हुने खेलमा मधेश प्रदेश र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।
मधेश आफ्नो तेस्रो खेलमा अपराजित यात्रा कायमै राखी सेमिफाइनल प्रवेश गर्न चाहन्छ । प्रतियोगिताबाट बाहिरिइसकेको बागमती भने समूह चरणको आफ्नो अन्तिम खेलमा सान्त्वना जितका साथ प्रतियोगिता समाप्त गर्न चाहन्छ । यस समूहबाट नेपाल पुलिस क्लब सेमिफाइनल पुगिसकेको छ ।
मुलपानी मैदानमा हुने खेलमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यस खेल पनि बिहान ९ः३० बजे सुरु हुनेछ।
प्रतियोगिताबाट बाहिरिइसकेका दुवै टोली आजको खेलबाट पहिलो अंक जोड्न चाहन्छन् । आफ्नो अन्तिम खेल खेल्दै गरेको सुदूरपश्चिम सान्त्वना जित हात पार्न चाहन्छ । यस समूहबाट नेपाल एपीएफ क्लब सेमिफाइनल पुगिसकेको छ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । क्यानले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ । हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्। यस्तै उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् ।
त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन्।