काठमाडौं । श्रीलंकाले ट्वान्टी–२० विश्वकप सुपर–१२ को ग्रुप–१ मंगलबार अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको छ ।
यससँगै श्रीलंकाले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ।श्रीलंकाको ४ खेलबाट ४ अंक भएको छ र तत्कालका लागि तेस्रो स्थानमा उक्लेको छ । हारले अफगानिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ ।
आफ्नो अन्तिम खेलमा श्रीलंकाले इंग्ल्यान्डको सामना गर्ने छ । अफगानिस्तानको अन्तिम खेल भने अस्ट्रेलियाविरुद्ध रहेको छ । जितका लागि १ सय ४५ रनको लक्ष्य पाएको श्रीलंकाले १८।३ ओभरमा ४ विकेट गुमाएर १ सय ४८ रन विजयी रन बटुल्यो ।
उसका लागि धनञ्जय डि सिल्भाले निर्णायक तथा नटआउट इनिङ्स खेले र ६६ रन बनाए । उनले ४२ बलको सामना गरेर ६ चौका र २ छक्का प्रहार गरे ।
उनको यो तेस्रो ट्वान्टी(२० अर्धशतक हो । हारले अफगानिस्तानको चुनौती समाप्त भएको छ र चार खेलबाट दुई अंकमै सीमित रहेर लिग तालिकाको पुछारमा रह्यो । अफगानिस्तान चारै खेलमा जितविहीन रहेको छ ।
प्रतियोतिगामा कायम रहन निश्चित जित आवश्यक रहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ८ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।
पहिलो विकेटका लागि रहमनुल्लाह गुरबाज र उस्मन घानीले ४२ रनको साझेदारी गरे । त्यसमध्ये गुरबाजको २९ रन नै उच्च व्यक्तिगत स्कोर रह्यो । श्रीलंकाका सबै बलरले राम्रो प्रदर्शन गरे । वनिन्दु हसरंगा त्यसमध्ये सबैभन्दा बढी सफल रहे र उनले १३ रन मात्र खर्चेर तीन विकेट लिए ।